माइभ्याली गोल्डकप: उद्घाटन खेलमा दार्जीलिङको विजयी सुरुवात

 फागुन २६, २०७५ आइतबार २०:४०:१५ | सुजता सुनुवार
unn.prixa.net

इलाम –  इलाममा सुरु भएकाे अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ युनाईटेड क्लब भारतले विजयी सुरुवात गरेको छ ।

आयोजक माइभ्याली फुटबल क्लब इलामविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै दार्जीलिङले विजयी सुरुआत गरेको हो । प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयको इन्जुरी समयमा दार्जीलिङका देवाशिष राइले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

दार्जीलिङका वाङदेन तामाङ खेलकाे म्यान आफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत सोमबार हिमालयन शेर्पा क्लब काठमाण्डौ र नेप्लिज फुटबल एकाडेमी हङकङबीच हुनेछ ।

यस संस्करणमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता रहे‍काे छ । यसपटक दाउफिन्स क्लब क्यामरुन, नेप्लिज फुटबल एकाडेमी हङकङ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), हिमालयन शेर्पा क्लब काठमाण्डौ, थ्रीस्टार क्लब ललितपुर, दाजिलिङ युनाईटेड क्लब भारत, मेची नेत्रालय झापा र आयोजक माइभ्याली फुटबल क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल आउँदाे चैत ५ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशी पुरस्कार भएको प्रतियोगिता हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया