जता पनि नेपाली पर्यटकको ओइरो : साहसिक पर्यटनको ६० प्रतिशत हिस्सा नेपालीकै

 फागुन २७, २०७५ सोमबार १०:२३:४४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – नेपालले आउँदो अंग्रेजी वर्ष अर्थात सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेर २० लाख पर्यटन भित्राउने लक्ष्य राखेको छ । २० लाख पर्यटक भित्र्याउनको लागि साहसिक पर्यटन अर्थात एड्भेन्चर टुरिजमलाई पनि सरकार र निजी क्षेत्रले प्राथमिकतामा राखेका छन् । र्‍याफ्टिङ, कायाकिङ, प्याराग्लाइडिङलगायतका साहसिक पर्यटनमा नेपाली र विदेशी पर्यटकको आकर्षण देखेर व्यवसायीहरु पनि उत्साहित छन् ।

चाहे त्रिशुली नदीमा हुने र्‍याफ्टिङ होस्, चाहे पोखराको आकासमा प्याराग्लाइडिङ अनि सिन्धुपाल्चोकको लास्ट रिसोर्टको बन्जी जम्प । जहाँ हेरे पनि हिजोआज नेपाली पर्यटक नै खचाखच देखिन्छन् । धार्मिक तथा सांस्कृतिक सम्पदा अनि पोखरा, चितवनलगायतका पर्यटकीय गन्तव्यमा त नेपालीहरुको ओइरो लाग्थ्यो नै, अहिले त साहसिक पर्यटन अर्थात एडभेन्चर टुरिज्मको ठूलो हिस्सा नेपालीले नै ओगट्न थालेका छन् । 

साहसिक पर्यटनको ६० प्रतिशत हिस्सामा नेपाली पर्यटक

‘आजभन्दा १० वर्ष अघिसम्म भोटेकोशीमा र्‍याफ्टिङ गर्नेहरु जम्मै विदेशी हुन्थे, नेपाली त मुश्किलले देख्न पाइन्थ्यो, हामी विदेशीहरुकै बाटो हेथ्र्यौं, विदेशी नै आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो, तर अहिले समय फेरिएको  छ, हामीकहाँ आउने  ६० प्रतिशत पर्यटकहरु नेपाली नै हुन्छन् ।’

सिन्धुपाल्चोकको भोटेकोशी किनारमा सुकुटे रिसोर्ट चलाइरहेका महेन्द्रसिंह थापाको अनुभव हो यो । उहाँको रिसोर्टमा आउने पर्यटकमध्ये पछिल्लो १० वर्षदेखि नेपाली पर्यटकको संख्या बढिरहेको थियो, तर अहिले त नेपालीको हिस्सा एकाएक ६० प्रतिशत नाघेको छ । 

‘नेपालीहरु मनग्य खर्च गर्छन्, अहिले हामीलाई विदेशी पर्यटक मात्रै आइदिए हुन्थ्यो भन्ने लाग्दैन, विदेशीको स्थान नेपालीहरुले लिइसकेका छन्’ थापाले भन्नुभयो ।

सिन्धुपाल्चोककै भोटेकोशीमा रहेको नेपालकै एक मात्र बन्जी जम्प गराउने थलो द लास्ट रिसोर्ट पुग्नेमा पनि नेपालीकै बाहुल्यता छ । हेर्दै मुटु सिरिंग हुने खेल बन्जीमा २/४ वर्ष अघिसम्म नेपालीहरु फाट्टफुट्ट मात्र पुग्थे, तर अहिले भने ९० प्रतिशत बन्जी हान्नेहरु नेपाली नै छन् । 

‘भूकम्पसम्म त बन्जी हान्न आउनेमध्ये विदेशी र नेपालीको संख्या आधाआधा जस्तै थियो, तर भूकम्पपछि भने यहाँ आउने पर्यटकमध्ये आधा भन्दा बढी नेपाली नै रहेका छन्’ द लास्ट रिसोर्टका महाप्रबन्धक भुवन शर्माले भन्नुभयो । 

नेपालीले पनि खर्च गर्ने र रिसोर्टमा भए जतिका सुविधा लिने भएकाले विदेशी पर्यटकको अभावमा रिसोर्टलाई कुनै पनि समस्या नपरेको शर्माको भनाई छ । 

हरेक शनिबार भोटेकोशीको द लास्ट रिसोर्टमा डेढ सयदेखि दुईसय जनासम्म नेपाली बन्जी, स्विङ, र्‍याफ्टिङ, क्यानोनिङलगायतका साहसिक खेलको लागि पुग्ने गरेका छन् । 

पोखराको आकास मात्रै होइन, काठमाण्डौको आकासमा पनि उड्दैछन् नेपाली

प्याराग्लाइडिङ भन्नेबित्तिकै अझै पनि धेरैलाई पोखराको याद आउँछ । सराङकोटबाट उडेर फेवातालमाथि पुग्ने र किनारमा अवतरण गरेको दृश्य धेरैले सम्झन्छन् । तर अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा प्याराग्लाइडिङको मज्जा लिन पाइन्छ । चाहे पोखरा होस, चाहे काठमाण्डौ जता पनि प्याराग्लाइडिङमा नेपाली नै हुन्छन् । 

गएको डिसेम्बरमा ३ करोड रुपैयाँको लगानीमा ललितपुरको गोदावरीबाट उडान गर्ने गरी सुरु भएको काठमाडौं प्याराग्लाइडिङले अहिलेसम्म साढे ३ सयको हाराहारीमा ‘फ्लाइट’ गरेको छ । जसमा पछिल्लो समय नेपालीहरु नै हुन्छन् ।

‘हाम्रो कम्पनीमा सुरु सुरुमा विदेशी धेरै थिए, अहिले भने नेपालीको संख्या बढ्दै गएको छ, जे होस् एडभेन्चर टुरिज्ममा नेपालीहरुको चाख धेरै बढेको देखिएको छ’ गोदावरीमा प्याराग्लाइडिङ गर्दै आएको काठमाण्डौ प्याराग्लाइडिङका प्रबन्ध सञ्चालक नारायण अर्यालले भन्नुभयो ।

साहसिक अर्थात एडभेन्चर टुरिजमको मुख्य विधामा पर्ने प्याराग्लाइडिङको लागि काठमाण्डौ वरपरसहित ११ स्थानमा ७३ कम्पनीले अनुमति पाएका छन् । प्याराग्लाइडिङ जस्तै  आकासमा उड्न एउटा हट एअर बेलुन, सगरमाथा र पोखरा क्षेत्रमा सानो जहाजबाट हामफाल्ने स्काइ डाइभिङ, पोखरामा पाँचवटा अल्ट्रालाइट, चितवन पोखरा र नुवाकोटमा ३ वटा पारामोटर छन् ।  जहाँ नेपालीकै बाहुल्यता छ ।

‘र्‍याफ्टिङमा नेपालमा जस्तो मज्जा अन्त छैन’

त्रिशूली, सेती, भोटेकोशी, कर्णालीलगायतका नदीमा ६३ वटा ¥याफ्टिङ एजेन्सीका सयौं र्‍याफ्टिङहरु हरेक दिन पानीको बेगसँगै हुत्तिइरहेका हुन्छन् ।

झण्डै ४० वर्ष पानीमा खेलिने र्‍याफ्टिङ, कायाकिङलगायतका खेलमा बिताएका सुकुटेबीच रिसोर्टका प्रमुख महेन्द्रसिंह थापा नेपालमा जस्तो र्‍याफ्टिङको मज्जा अरु देशमा नपाइने बताउनहुुन्छ । 

‘अमेरिकादेखि आइसल्याण्ड अनि भारतदेखि भुटानसम्म धेरै नदीमा खेलेको छु, तर नेपालको पानीमा जस्तो मज्जा अन्त हुँदैन’ थापाले भन्नुभयो, ‘अरु देशमा र्‍याफ्टिङ गर्दा पानी नछिर्ने कपडा लगाउनुपर्छ तर यहाँ त हामी टिसर्ट लगाएर पनि खेल्न सक्छौं, नेपालका खोलानाला मलाई अद्भुत लाग्छ ।’ 

पोखराको सेती नदीमा कायाकिङको लागि आएका अमेरिकी नागरिक गेयर्ड एग्नोको अनुभव पनि उस्तै छ ।
‘यो मेरो पहिलो नेपाल भ्रमण हो, अमेरिकामा म र्‍याफ्टिङ गाइडको काम गर्छु, त्यहाँ मैले दर्जनौँ नदीमा खेलेको छु, तर नेपालका नदीमा र्‍याफ्टिङ गर्नुको छुट्टै मज्जा रहेछ । म फेरि पनि साथीहरुलाई लिएर नेपाल आउनेछु’  गेयर्ड एग्नोले मख्ख पर्दै भन्नुभयो । 

हनिमुन मनाउनेदेखि साहित्य सृजना गर्नको लागि ट्रेकिङ जान्छन् नेपालीहरु

नदीमा र्‍याफ्टिङ, कायाकिङ जस्तै प्रकृतिसँगै रमाउनको लागि ट्रेकिङ रुटहरुमा स्वदेशी, विदेशी पर्यटकको लर्को लागेको देखिन्छ । गाउँले जीवन र परिकारसँगै घुलमिल हुने अनि उकाली ओरालीमा घुम्न रुचाउनेहरुको कारणले नेपालका नयाँ पुराना धेरैजसो ट्रेकिङ रुट भरिभराउ देखिन्छन् ।

‘हनिमुन मनाउनेदेखि साहित्य सृजना गर्नको लागि नेपालीहरु ट्रेकिङमा जान थालेका छन्, पर्यटनका अरु क्षेत्रमा जस्तै ट्रेकिङमा पनि नेपालीहरुको संख्या बढेको छ’ ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष नवराज दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

टानमा अहिले १८ सय ट्रेकिङ कम्पनी दर्ता छन्, तर नियमित सञ्चालन हुने कम्पनीको संख्या भने १२ सयको हाराहारीमा मात्रै रहेका छन् । विदेशीलाई लक्षित गरेर धेरै कम्पनी खोलिएको तर नेपालीहरु आफ्नै व्यवस्थापनमा ट्रेकिङ जान थालेकोले धेरै कम्पनी संकटमा परेको पनि टानका अध्यक्ष दाहालले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ६, २०७५

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया