परिवारलाई थाहै नदिई मलेसियाबाट फर्किएका रिमबहादुर काठमाडौंबाटै हराए

 असार ११, २०७५ सोमबार १२:२०:१५

ज्ञानेश्वर भण्डारी 

नवलपरासी – मलेसियाबाट परिवारलाई थाहा नै नदिई घर फर्किएका रिमबहादुर सार्की काठमाडौंबाट हराउनुभएको छ । 

२०७२ साल जेठमा मलेसिया गएका रिमबहादुरले श्रीमती मनिषालाई फोन गरिरहनुहुन्थ्यो । फोन गरिरहने श्रीमानले पैसा पनि पठाइरहनुहुन्थ्यो मनिषालाई । गएको जेठको १५ गते श्रीमतीलाई फोन गर्दा रिमबहादुरले दुई महिनाको बिदामा घर आउने खबर सुनाउनुभयो ।

श्रीमान् आउने खबरले मनिषा खुशी हुनुहुन्थ्यो । ‘तर कहिले आउँछु भन्ने चाहिँ भन्नुभएन’ मनिषा भन्नुहुन्छ । त्यही दिन रिमबहादुरले १५ हजार रुपैयाँ पनि पठाइदिनुभयो । श्रीमानले पठाइदिएको पैसा मनिषाले भोलि पल्ट निकाल्नुभयो । पैसा पाएको खबर दिन श्रीमानलाई फोन गर्दा लागेन । १५ दिनसम्म पनि फोन स्वीच अफ भनेपछि आत्तिएकी मनिषाले कहाँ जाने के गर्ने सोच्न सक्नुभएन् । 

मनिषा रुपन्देहीको देवदह नगरपालिका–१२ विर्ता गाउँमा बस्नुहुन्छ । रिमबहादुरको घर पाल्पा जिल्ला पूर्व खोला गाउपालिका–१ सिलुवा हो । आफूलाई केही नभनि सम्पर्कविहीन भएका रिमबहादुरले परिवारलाई पो केही भनेका छन कि भनेर मनिषाले पाल्पामा पनि फोन गर्नुभयो । तर परिवारलाई पनि रिमबहादुरले फोन गर्नुभएको थिएन । 

दाजु घर नआइपुगेको खबर सुनेपछि रिमबहादुरका भाई छविलालले इमोमा पनि कल र म्यासेस गर्नुभयो । तर न फोन उठ्यो न म्यासेसको कुनै जवाफ नै आयो । आफ्नो प्रयास सफल नभएपछि छविलालले दाइसँगै काम गर्ने उहाँका साथीहरुलाई फेसबुक मार्फत सम्पर्क गर्नुभयो । उनीहरुले रिमबहादुर मे २९ तारिख अर्थात जेठ १५ गते नै नेपाल गइसकेको खबर दिएपछि परिवार झनै तनावमा पर्‍यो । उनीहरुले रिमबहादुरसँगै नेपाल साथीको नम्बर पनि दिएका थिए । ‘त्यो खबर पाएपछि त झन कहाँ जानुभयो भन्ने चिन्ताले सताइरहेको छ ।’ मनिषा भन्नुहुन्छ । 

आफूले खोज्दा पत्तो लाउन नसकेपछि मनिषाले असार १० गते नवलपरासीको परासीमा रहेको सूचना केन्द्रमा निवेदन दिनुभएको छ । सूचना केन्द्रले रिमबहादुरसँगै काठमाडौं ओर्लिएका भनिएका रुपन्देहीका कृष्ण पौडेललाई फोन गरेपछि उहाँ काठमाडौं आइपुगेको त टुङ्गो लाग्यो तर काठमाडौंबाट घर नगई कहाँ जानुभयो भन्ने चाहिँ अझै थाहा हुन सकेको छैन । कृष्णले आफूहरु काठमाडौंमा एक रातसँगै बसेको बताएका छन् ।

रिमबहादुरले कृष्णलाई सँगै बसेको भोलि पल्ट ९० हजार पैसा निकाल्न जान्छु भन्नुभएको थियो । ‘भोलि पल्ट म बिरामी भेट्न अस्पताल जानु पर्ने भएकाले त्यता गएँ त्यसैले उहाँ कता जानुभयो मैले थाहा पाइन’ कृष्णले सूचना केन्द्रसँग भन्नुभयो । 

विदेशबाट फर्किएका रिमबहादुर घर नपुगेपछि चिन्तामा परेको परिवारले उहाँलाई देख्ने वा जानकारी हुने व्यक्तिलाई भाई छविलाल सार्कीको ९८२६४१४३७२ र      सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र परासीको ०७१–५२०३११ र ९८५७०८०६५१ सम्पर्क गरिदिन आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया