दुबईमा लुगा सिउँदा निजगढमा मायाको ‘धागो’ चुँडियो !

 फागुन २७, २०७५ सोमबार १३:१९:१५ | मिलन तिमिल्सिना
unn.prixa.net

माया र मौसमको के भर ! केहीबेर अघिसम्म न्यानो घाम लाग्दैथियो । उतिखेरै आकाशमा बादल मडारियो । हावाहुरी चल्न थाल्यो । गर्न खोजेको कामलाई मौसमले साथ दिएन । त्यसपछि सडक छेउमा कामको पर्खाईमा बसेका कुमार सुन्दास लुगा सिउने मेसिन काखी च्यापेर लखरलखर फर्किनुभयो ।

भोलिपल्ट उसैगरी धोबीघाट चोक पुग्नुभयो । मेसिन अघिल्तिर राखेर बस्नुभयो । धेरैबेर पर्खंदासम्म कोही आएनन् । अनुहार आकाशमा लागेको बादलजस्तै अँध्यारो भयो । 

अर्को दिन आकाश अलिअलि खुल्यो । अघिल्लो दिन निराश अनुहार बनाएर बसेका कुमारको अनुहारमा थोरै चमक देखियो, खुलेको आकाशजस्तै । किनकी उहाँले दुई दिनपछि काम पाउनुभयो, फाटेको लुगा सिउने । आकाश थोरै खुल्दा अलिकति आश बोकेर काम गर्ने कुमारको जिन्दगीमा घामभन्दा धेरै बादल मडारिएको छ ।

आफूले सबैभन्दा माया र विश्वास गर्ने मान्छे मौसमजस्तै बदलिए । अरुको लुगा सिएर बस्दा आफूले बलियो ठानेको विश्वासको धागो चुँडियो । फाटेको लुगा त जति पनि सिउन सकिन्छ, तर आफ्नै जिन्दगीमा चुँडिएको धागो गाँस्न मुस्किल पर्यो । चुँडिएको धागोले बेलाबेला अल्झाइरहन्छ । किनकी त्यो धागोसँगै कुमारका धेरै सपना र पसिना पनि चुँडिएर हराएका छन् । अहिले त्यही धागो चुँडिएर बनेको भ्वाङ टाल्ने उपाय खोज्दै उहाँ धोबीघाटमा ओहोरदोहोर गर्दै हुनुहुन्छ ।

निजगढदेखि दुबई हुँदै धोबीघाटसम्मको यात्रा

बारा निजगढको सुकुम्बासी बस्ती । आफ्नो नाममा धनसम्पत्ति र जग्गा जमिन केही छैन । आफू ११ वर्षको हुँदा बावु बिते । हजुरबा अरुको लुगा सिउने काम गर्थे । बावु नभएपछि सुन्दासलाई फुपू र फुपाजुले लगेर पाले । उनीहरु पनि लुगा नै सिएर गुजारा गर्थे । कुमारलाई फुपाजुले नै लुगा सिउन सिकाए । पढ्न पनि पाइएन, अरु काम पनि जानिएन । सानोमा जे सिक्यो, त्यसलाई निरन्तरता दिनुबाहेक अर्को उपाय थिएन । 

बिहेबारी भयो । तीन छोराछोरी जन्मिए । परिवार थपिंदै गएपछि गुजारा चलाउन समस्या पर्न थाल्यो । आफ्नै नामको सानो घर, थोरै जग्गा अनि जहान र बालबालिकाको अनुहारमा सन्तुष्टिको रेखा देख्न पाए कस्तो हुन्थ्यो भन्ने हुटहुटीले सताउन थाल्यो । 

भन्छन् नि –तँ आँट, म पुर्‍याउँछु । विदेश गएर धेरै कमाउने सपना बोकेका कुमारको आँटलाई गाउँकै साथीभाइले साथ दिए । दुबईको एक कारखानामा लुगा सिउने काम मिल्यो । अनि घरको लुगा सिउने मेसिन थन्काएर कुमार सपनाको भारी बोकेर दुबई पुग्नुभयो ।

दुबईमा काम पनि भनेजस्तै मिल्यो । ‘सेना, प्रहरी र सुरक्षागार्डले लगाउने कपडा सिलाउनुपर्थ्याे , निकै सजिलो थियो काम’ कुमार ती दिन सम्झँदै भन्नुहुन्छ, ‘पैसा पनि ठिकै थियो ।’

काम पनि सजिलो, पैसा पनि भनेजस्तै । काम गर्न विदेश जानेलाई योभन्दा सन्तुष्टि अरु के नै हुन्थ्यो र ? काम र कमाइले गद्गद् भएका कुमारले हातमा पैसा पर्नेबित्तिकै घर पठाउन थाल्नुभयो । बेलाबेला आफू फर्किंदा पनि घरमा पैसा छोड्नुहुन्थ्यो । श्रीमती र छोराछोरीको हँसिलो र भरिलो अनुहार हेरेर फर्कनुहुन्थ्यो ।

परिवारको अनुहारमा त चमक भरिन थाल्यो, अब आफ्नै नामको घर र जग्गा जोड्नुथियो । बाँकी रहेको यही सपना पूरा गर्न कुमार दुबईमा लुगा सिलाइरहनुभयो । घरगाउँको यादले बेलाबेला सताउँथ्यो । तर त्यो यादलाई सपनाले जित्यो । धेरै कमाउने र घर बनाउने सपना बुन्दै उहाँ एकोहोरो लुगा सिलाउनै व्यस्त हुनुभयो ।

एकदिन लुगा सिइरहँदा छोराले फोन गरेर भन्यो ‘आमाको चाल ठिक छैन बुवा, छिटो घर आउनुहोस् ! “छोराका कुराले कुमारको मन पोल्यो, आँखा वरपर जताततै अँध्यारो भयो । सिइरहेको लुगा थन्क्याएर साहुसँग कुरा गरि घर फर्किदा घरमा न श्रीमती थिइन्, न त कुमारले पठाएको पैसा थियो ।

११ वर्षसम्म दुबई बस्दा कति कमाएँ र कति घरमा पठाएँ भन्ने हिसाब पनि छैन उहाँसँग । ‘पहिले पुगेकै थियो हिसाब गरिएन, कमाएजति सबै उसैलाई पठाएँ, फर्किंदा केही बाँकी थिएन’ कुमारले खुइय सुस्केरा हाल्नुभयो ।

उहाँको अनुमानमा झण्डै १४/१५ लाख रुपैयाँ डुब्यो । श्रीमतीलाई विश्वास गर्दा सबै सपना चकनाचुर भयो ।  आफूले सबैभन्दा धेरै विश्वास गरेको मान्छेले नै ठूलो धोका दिन्छ भन्ने कसले पो सोचेको हुन्छ र ? तर जिन्दगीमा कहिलेकाहीँ यस्तै नसोचेको भैदिन्छ । आफूले गुन लगाएकै मान्छे बैगुन बन्दिन्छ, अनि कहिल्यै नबिर्सने चोट सहनुपर्छ । यस्तै भैदियो कुमारलाई पनि । भत्केको घर र फाटेको जिन्दगी टाल्नकै लागि दुबईमा लुगा सिउन जाँदा माया र प्रेमले बनाएको सम्बन्धको धागो चुँडियो । 

श्रीमतीसँगको सम्बन्धलाई उहाँ लुगा सिउने धागोभन्दा पनि बलियो ठान्नुहुन्थ्यो । लुगाको धागो त बेलाबेला उध्रिन्छ, तर दुईटा जिन्दगी जोड्ने धागो त उध्रन नपर्ने । तर उहाँले बलियो ठानेको धागो नै चुँडियो । 

‘आफ्नै मान्छेलाई विश्वास नगरेर कसलाई गर्ने, तर आफ्नै तन र मनलाई पनि कहिलेकाहीँ विश्वास गर्न नहुने रहेछ’ कुमारले पछुतो मान्दै भन्नुभयो ।

जे हुनु भैसक्यो । पछुतो मात्रै मानेर पनि जिन्दगी चल्दैन । फाटेको तन र मन सिलाउन कुमारलाई अर्को धागोको आवश्यकता थियो । विदेशबाट फर्किएपछि उहाँको यो आवश्यकता पूरा भएको छ । 

साथमा अर्की श्रीमती छिन् । अर्की श्रीमतीबाट एक छोरा जन्मिएका छन् । पहिलेका दुई छोरा र एकछोरी पनि सँगै छन् । परिवार मिलेर बसेको छ । पुरानो धागो चुँडिए पनि नयाँ धागो फेर्न त सफल हुनुभयो, तर पहिलेको धागोले बेलाबेला अल्झाउँछ । किनकी धागोसँगै उहाँको पसिना उडेको छ । त्यही धागो चुँडिएर फाटेको सपना पूरा गर्न र भ्वाङ टाल्न उहाँ अहिले धोबीघाटको चोकमा ओहोरदोहोर गर्नुहुन्छ ।

दोबाटोमा बसेर सजिलो छैन काम गर्न

कुमार हरेक दिन लुगा सिउने कल बोकेर धोबीघाट चोक पुग्नुहुन्छ । बाटोको छेउमा बस्नुहुन्छ । मौसम बदली भएको दिन काम गर्न सकिंदैन । किनकी झ्यार्र पानी पर्दा र सिरसिर हावा चल्दा पनि लुगा सिउन सकिँदैन । कहिले धागो उडाएर लान्छ, कहिले सिउनै नमिल्ने गरी धागो भिज्छ ।

‘त्यसमाथि बाटोमा बस्दा धेरैले विश्वास गर्दैनन्’ कुमारले भन्नुभयो, ‘आज लुगा छोडेर जाँदा भोलि आउँदैन कि भन्ने धेरैलाई लाग्दो रहेछ, त्यसैले नयाँ लुगा सिउन त कोही आउँदैनन्, पुराना उध्रिएका लुगा मात्रै सिउने हो ।’

त्यही पुराना लुगा सिउने काम पनि सधैं पाईंदैन । कहिले एक रुपैयाँ पनि हुँदैन, कहिले दिनको ५/७ सय रुपैयाँ पनि हुन्छ ।

एउटा कोठा लिएर लुगा सिउने पसल खोल्न पाए पहिले परेको भ्वाङ टाल्न सकिन्थ्यो भन्ने लाग्छ, कुमारलाई । ‘हातमा सीप छ, काम गर्ने जाँगर पनि छ, तर ठाउँ छैन’ पुर्पुरोमा हात राखेर बसेका कुमारले भन्नुभयो ।

सरकारले विदेशबाट फर्किएकालाई सहुलियत ऋण दिन्छ भन्ने पनि उहाँले सुन्नुभएको छ । तर ऋण लिन चाहिने धितो उहाँसँग छैन । ‘मेरो नाममा जग्गा जमिन केही छैन, के धितो राखेर ऋण लिने ?’ कुमारले भन्नुभयो, ‘हामीजस्ता केही नहुनेलाई सरकारले बिनाधितो ऋण दिने हो भने देशमै बसेर पनि कमाउन सकिन्थ्यो ।’


 

अन्तिम अपडेट: भदौ १३, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया