ओली र प्रचण्डसँग विप्लवको अंशबण्डा झगडा

 फागुन २८, २०७५ मंगलबार १२:८:२४ | डा. सुरेन्द्र केसी
unn.prixa.net

काठमाण्डौ – सिके राउतसँग सम्झौता गरेपछि सरकार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी नेकपाप्रति कडा रुपमा प्रस्तुत भएको छ । राउतसँगको ११ बुँदे सम्झौतालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली आफैँले विप्लवलाई ‘लुटेरा समूह’ भन्नुले पनि यसलाई पुष्टि गरेको छ । विप्लवप्रति सरकारको यो दृष्टि असहिष्णु मात्रै होइन, अराजक पनि हो । 

राजनीतिमा रहेका जुनसुकै पार्टीले एक अर्कालाई आलोचना गर्न पाइन्छ । तर अराजनीतिक शब्दावली प्रयोग गर्नु चिन्ताको विषय हो । किनकी सरकारमै बसेका राजनीतिक दलका मुख्य नेताले नै अराजनीतिक शब्दावली प्रयोग गर्नु शोभनीय होइन ।

विप्लवप्रति सरकारको दृष्टिकोण प्रधानमन्त्री वा नेकपाकै नेताहरुबाटै आइरहँदा अलिकति विगततिर फर्किनुपर्छ । किनकी अहिलेको सत्तारुढ नेकपाभित्र पूर्व माओवादीको धार छ । विगतमा तत्कालीन माओवादीका नेताहरुले सरकारबाट कस्तो व्यवहारको अपेच्छा राखेका थिए भन्ने कुरा राम्रोसँग गमेर सोच्नुपर्छ । तत्कालीन नेकपा माओवादीलाई आतंककारी भनिएको थियो । टाउकाको मूल्य तोकिएको थियो । 

विप्लव तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र महासचिव रामबहादुर थापा बादलकै सहयात्री हुन् । प्रचण्डसँगै विप्लवको पनि टाउकोको मूल्य तोकिएको हो । अहिले प्रचण्ड सत्तामा छन् । बादल गृहमन्त्री छन् । तर विप्लवलाई ‘लुटेरा समूह’ भनिदैछ ।

अहिले प्रचण्ड र विप्लवको विचार मिल्दैन । तर कुनै बेला सरकारसँग प्रचण्डको विचार पनि मिल्दैन्थ्यो र त प्रचण्डले जनयुद्ध अर्थात् सशस्त्र द्वन्द्वको सुरुवात गरे ।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पञ्चायतमा डाँका मुद्दा लगाइएको थियो । ओली १४ वर्ष जेल बस्दा डाँका मुद्दा पनि झेल्नुभयो । तर उहाँ डाँका त होइन । राजनीतिक व्यक्ति भएर आन्दोलनमा लाग्नु भएको थियो । तत्कालीन सरकारले राजनीतिक आन्दोलनलाई दबाउन ओलीलाई डाँका मुद्दा लगाएको कुरा त सबैलाई जगजाहेर छ । त्यो त राम्रो थिएन ।

राजनीति गर्ने मान्छे वा व्यक्तिलाई त राजनीतिक संस्कार नै गर्नुपर्छ होला । अनि विप्लवसँग राजनीतिक संस्कार नगरेर किन ‘लुटेरा समूह’ भनिदैछ । राजनीतिक आन्दोलन त राजनीतिक वार्तामार्फत नै सहमतिमा ल्याउनुपर्छ होला । राज्यको कानुन, नियम इत्यादीले बाधा हालेको छ भने कानुन बमोजिम अगाडि जानुपर्यो । तर अराजनीतिक शैलीको व्यवहार गर्नु भएन ।

विप्लव बम पड्काउन किन बाध्य छन् ?  

विप्लवका पछिल्ला गतिविधिले धेरै त्रासमा छन् । एकथरीले यसलाई आतंक भनिरहेका छन् । सुरुमा चन्दा माग्ने, नदिएपछि बम विष्फोट गराउने विप्लवको हर्कत डरलाग्दो छ । विप्लवको यो कार्यशैली धेरैलाई चित्त बुझेको छैन । कोही व्यक्ति वा संस्था मन परेन कि बम पड्काइहाल्ने ? चन्दा नमागे बम हानेर उडाइदिने उनका गतिविधिले नागरिक आतंकित छन् ।

तर विप्लवका गतिविधिलाई अहिल्यै आतंककारी भन्नु हतारो हुन्छ । किनभने हिजो ओली, प्रचण्ड, बादल अर्थात जति पनि अहिले सत्तारुढ दल छन् । उनीहरु सबै बम पड्काएर, चन्दा मागेरै, उस्तै परे गुण्डागर्दीलाई संरक्षण गरेरै आएका हुन् ।

हिजो ओली, प्रचण्ड, बादल अर्थात जति पनि अहिले सत्तारुढ दल छन् । उनीहरु सबै बम पड्काएर, चन्दा मागेरै, उस्तै परे गुण्डागर्दीलाई संरक्षण गरेरै आएका हुन् ।

नेपालमा जति पनि कम्युनिष्ट पार्टी छन्, ती सबै कुनै न कुनै बेला हिंसात्मक आन्दोलन गरेर सत्तामा आएका थुप्रै उदाहरण छन् । कम्युनिष्ट मात्रै होइन, कांग्रेसले पनि हिंसात्मक आन्दोलन गरेको थियो । त्यसैले कांग्रेसको विरोध गर्ने शैली आफ्नै छ । नेकपाकै नेताहरुको विरोध गर्ने शैली पनि आफ्नै छ । मधेश केन्द्रित दलका नेताहरुको विरोध गर्ने शैली आफ्नै छ । अनि अहिले विप्लवका नेता कार्यकर्ताको विरोध गर्ने शैली र हर्कत पनि आफ्नै छ ।

त्यसैले विरोध गर्ने र आफ्ना गतिविधि गर्ने कार्यशैली सबैका फरक फरक छन् । तर कोही भन्दा कोही कम छैनन् भनेर विप्लवले आफूलाई कम आक्न दिएका छैनन् । यो कति सही छ ? गलत छ ? वा कानुनअनुसार छ, छैन भनेर लामो बहस गर्नुपर्छ ।

सिके राउतसँग सम्झौता, विप्लवसँग दुस्मनी !

प्रधानमन्त्री ओलीले सिके राउतसँग सम्झौता गरेको घोषणासभामै विप्लवलाई दुश्मनी व्यवहार गरेका छन् । एउटा सरकारमा बसेको दलको अध्यक्ष अझ प्रधानमन्त्रीले नै कुनै दल र दलका प्रतिनिधिलाई यति धेरै उट्पट्याङ शैलीमा ‘लुटेरा समूह’ भनिहाल्नु हुँदैनथ्यो ।

सरकारको कार्यकारीले त झन लचक बनेर विप्लवका माग वा मुद्दालाई सम्बोधन गर्ने प्रयास गर्नुपथ्र्यो । ओलीको भाषिक शैली हिजोदेखि नै उट्पट्याङ हो । यसलाई प्रचण्डले आफ्नै शैलीमा भन्थे होला । 

ओली र प्रचण्डसँग विप्लवको अंशबण्डाको झगडा हो । हिजो माओवादी आन्दोलन होस् वा कम्युनिष्ट आन्दोलन नै । आखिर विप्लव पनि ओली र प्रचण्डकै भाइ हुन् ।

नेताहरुको बोल्ने र अरुलाई टिप्पणी गर्ने शैली फरक–फरक हुन्छ । आज विप्लवको बोली र व्यवहार फरक नै छ । यसलाई हलुका रुपमा बुझेर हुँदैन । हिजो नेकपा माओवादीको आन्दोलन पनि सामान्य थियो । तर भैदियो उल्टो ।

परिणामतः १७ हजार मानिसले ज्यान गुमाउनु पर्‍याे । यसरी विगतदेखि नै हेर्दा नयाँ दुश्मनी छैन । ओली र प्रचण्डसँग विप्लवको अंशबण्डाको झगडा हो । हिजो माओवादी आन्दोलन होस् वा कम्युनिष्ट आन्दोलन नै । आखिर विप्लव पनि ओली र प्रचण्डकै भाइ हुन् ।

दुई भाइमा अंशबण्डामा कुरा नमिल्दा कति हानाहान हुन्छ, त्यो त हामीले नेपाली समाजमा देखेकै छौँ । यसको असर नेपाली कम्युनिष्ट आन्दोलनमा पनि परेको हो । ओली, प्रचण्ड र विप्लवबीचको झगडा कुनै नौलो होइन ।

किनकी प्रधानमन्त्री ओलीले विप्लवलाई ‘नेकपा’ नै किन नाम राखिस् भनेर हकार्नु भनेकै अंशबण्डाको जस्तो झगडा भएन र ? भन्ने नेकपा, पार्टी कम्युनिष्ट, तर कार्यशैली लुटेराको जस्तो भने पनि यो ठूलो झगडा होइन । तर सरकारमै बसेका नेताहरुको शैलीले विप्लवको कार्यशैली थप उग्र हुन्छ कि भन्ने चिन्ता बढेको छ ।

कम्तीमा पटक पटक प्रधानमन्त्री भइसकेका र भइरहेका नेताहरुले सभ्य शब्दको प्रयोग गरेर संस्कार बसाल्नु राम्रै हुन्थ्यो । यसले पछिसम्मलाई पनि असर गथ्र्यो । अरुले हेरेर पनि सिक्न सक्थे । तर अरुलाई सिकाउनुको साटो आफैंले उट्पट्याङ शब्दहरु बोलेपछि हिंसात्मक आन्दोलन गर्ने दललाई शान्तिपूर्ण वार्तामा ल्याउन कठिन हुन्छ ।

तर पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र भनेजस्तै सरकारले फेरि वार्ता थाल्नुको विकल्प छैन । एकपटक प्रयास गरे पनि वार्तामा आएन भन्दैमा वार्ता नगरे भोलि अर्को द्वन्द्व निम्तिन सक्छ ।

(राजनीतिक विश्लेषक केसीसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ ९, २०७६

डा. सुरेन्द्र केसी

डा.केसी राजनीतिक विश्लेषक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया