ओखलढुंगामा भीषण आगलागी : ६ घर जले, सयौँ हेक्टर वन सखाप

 फागुन २८, २०७५ मंगलबार १७:१:१९ | शिव ढुंगाना

ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछापमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् । 

जंगलबाट सुरु भएको आगो नियन्त्रण गर्न नसक्दा ठूलाछापको चुहानछाप गाउँमा पसेको स्थानीय नागरिकले बताए । आगलागीमा  नरेन्द्र कार्की, प्रेम कार्की, ढकबहादुर कार्की, सत्यवती कार्की, गोविन्द खड्का र ढुलबहादुर कार्कीको घर तथा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । त्यस्तै शमशेरबहादुर कार्कीको मतान जलेको प्रहरीले जनाएको छ । 

गोविन्द खड्काको निजी वनबाट सुरु भएको आगो निभाउन नसक्दा बस्तीमा पसेको हो । आगो निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगरपालिकाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो । उहाँले आगो निभाउन पानी नहुँदा समस्या आएको पनि बताउनुभयो । आगो निभाउनका लागि दमकल पठाइए पनि बाटो साँगुरो भएकाले समयमै पुग्न नसकेको न्यौपानेको भनाइ छ । 

खाद्यान्न, त्रिपाल, पानीलगायतका वस्तु समेत पीडितहरुलाई उपलब्ध गराउन पहल भइरहेको प्रहरीले जनाएको छ । घर जलिसकेपछि आगो निभाइएको छ । घटनास्थल सदरमुकामबाट टाढा भएकाले सुरक्षाकर्मी पुग्न ढिलाइ भएको थियो । 

आगलागीबाट ६ परिवारका घरसहित सम्पूर्ण धनमाल नष्ट भएको स्थानीय गेजराज श्रेष्ठले जानकारी दिनुभयो । क्षतिको एकिन नभएपनि ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । 

त्यस्तै मोलुङ गाउँपालिका वडा नंं ७ र ८ मा रहेको सरकारी  वनमा फैलिएको आगलागी अझै निभाउन सकिएको छैन । तीनदिनदेखि सुरु भएको आगोले सयौं हेक्टर सरकारी, सामुदायिक र निजी वन सखाप भएको मोलुङ गाउँपालिका वडा नं. ७ वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । 

वन कार्यालय, तथा अन्य सरकारी नियकाले आगो नियन्त्रणमा चासो नदिएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार दुई जना प्रहरी मात्रै अहिलेसम्म आगो नियन्त्रका लागि पुगेका छन् । अहिले पनि भीषण आगलागी भइरहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया