माध्यमिकी परिक्रमा यात्री कञ्चनवनमा, होली आजबाट शुभारम्भ भएको विश्वास

 फागुन २९, २०७५ बुधबार १३:१०:५५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको मानवसागर  बुधबार ८ औँ दिन महोत्तरीको कञ्चनवन आइपुगेको छ ।

धनुषाको कचुरीमा रहेको मिथिला बिहारी (राम) को डोलाको नेतृत्व गर्दै धार्मिक झाँकी, भजनकीर्तनसहितको टोली बुधबार बिहान भंगहा नगरपालिकामा पर्ने कञ्चनवन पुगेकाे हाे ।

कञ्चनवन प्रवेश गरेका श्रद्धालुलाई भंगहा नगरपालिकाका मेयर संजिवकुमार साह तथा जनप्रतिनिधीहरुले रंग, अविर, फूलमाला लगाएर भव्य स्वागत गरेका छन् । त्रेतायुगमा सीता र भगवान रामले रंग खेलि होली मनाएको धार्मिक विश्वास रहेको छ ।

यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होलीको शुभारम्भ गर्ने धार्मिक एवम् पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले जानकारी गराउनुभयो । कञ्चनवनमा विहार मन्दिर, अग्निकुण्ड रहेको छ भने यहाँ रहेको आँपको बगैंचाले कञ्चनवनको सौन्दर्यता बढाएको छ ।

कञ्चनवनमा परिक्रमा यात्रीको लागि निःशुुल्क स्वास्थ्य शिविर, बिजुली, पानी, दाउरा र वासको साथै श्रद्धालु सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी समेतको व्यवस्था गरिएको नगर प्रमुख सञ्जिव कुमार साहले जानकारी दिनुभयो ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ । कञ्चनवनमा परिक्रमा यात्रीको लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने गरेको चलन रहेको छ । घरमा भोजनको विभिन्न परिकार बनाएर आफ्नो परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्ने गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया