अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
ओखलढुंगा – केन्द्रीय विद्युत प्रसारण आयोजना सोलु करिडोरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चन्दा माग्न थालेपछि आयोजनाको काम सञ्चालन गर्न कठिन भएको छ ।
वन क्षेत्रको उपयोग र मुआब्जाको विषयमा टुंगो नलागेपछि आयोजनाको काम प्रभावित भइरहेको अवस्थामा विप्लवका कार्यकर्ताले चन्दा आतंक मच्चाएको आयोजनाले जनाएको छ ।
आयोजनाको निर्माण स्थलमा पुगेर चन्दा माग्न थालेको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले बताउनुभयो । उहाँले सोलुखुम्बुको काम भइरहेको क्षेत्रमा विप्लवका कार्यकर्ताले चन्दा माग्न थालेको जानकारी दिनुभयो ।
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुसम्म निर्माण भइरहेको १३२ केभी विद्युत प्रसारण आयोजना ओखलढुंगा हुँदै सोलुखुम्बु पुग्नेछ । पहिलो चरणमा मुआब्जाको काम सकिए पनि वन क्षेत्र प्रयोग गर्ने विषयमा टुंगो नलाग्दा काम प्रभावित भएको थियो ।
वन क्षेत्रको प्रयोगसम्बन्धी विषय मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ । ओखलढुंगा र सोलुखुम्बुमा गरी १५ ओटा सामुदायिक वनको क्षेत्र आयोजनाले प्रयोगमा ल्याउनेछ ।
राष्ट्रिय प्रथामिकता प्राप्त यो आयोजना विप्लवका कारण थप प्रभावित हुने अवस्था आएको आयोजना प्रमुख गौतमले बताउनुभयो । उहाँले केही दिनदेखि चन्दा माग गर्ने काम भइरहेको गुनासो गर्नुभयो ।
कार्यस्थलमै चन्दा माग गर्न थालेपछि आयोजनाका काम अवरुद्ध हुने भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने पनि गौतमको भनाइ छ ।
सरकारले सन् २०१९ भित्र उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।
लक्ष्य अनुसार प्रसारण लाइन निर्माण सम्पन्न नभएमा सोलुखुम्बुको सोलु खोलामा निर्माण भइरहेका ६ ओटा २१७.५ मेगावाट क्षमताका जलविद्युत आयोजनालाई नेपाल विद्युत प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जाना तिर्ने प्रतिबद्धतासहितको विद्युत खरिद सम्झौता गरेको थियो ।