प्रदेश ७ : बजेट जनमुखी नभएको भन्दै कांग्रेसको विरोध, संसद बैठक स्थगित

 असार ११, २०७५ सोमवार १८:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – प्रदेश ७ को प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदले संसद बैठकमा विरोध गरेपछि सोमबारको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको २५ अर्ब बजेट जनमुखी नभएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेका हुन् । प्रदेश सरकारले नागरिकले तिरेको करको दुरुपयोग हुने गरी बजेट विनियोजन गरेकाले विरोध जनाएको प्रदेशसभामा विपक्षी दलका नेता रणबहादुर रावलले बताउनुभयो ।

खर्च गर्ने कुनै निश्चित मापदण्ड नै नबनाई बजेट प्रस्तुत गरेकाले आर्थिक वर्ष २०७४/७५ को अल्पकालीन बजेट जस्तै सेवा सुविधा र कार्यक्रमका लागि मात्रै बजेट ठिक्क हुने उहाँको भनाई छ । योजना नबनाएरै बजेट प्रस्तुत गरेकाले यसलाई नसच्याउँदासम्म संसदमा विरोध गर्ने नेता रावलले बताउनुभयो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले संदनमा सांसदहरुलाई जवाफदेही नबनाएरै सरकारले बजेट प्रस्तुत गरेको बताउनुभयो । नागरिकको प्रतिनिधि भएर योजना दिने काम सांसदको भए पनि सरकारले एकलौटी ढगंले योजना छनौट गरेको उहाँले बताउनुभयो । पटक–पटक सभामुख तथा मुख्यमन्त्रीलाई बजेट सच्याउन आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नआएकाले सांसदमा विरोध गरेको उहाँको भनाई छ ।

प्रदेश सरकारले भने सबै क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गरेको दाबी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भन्नुभयो, ‘हामीले कानुनी मान्यता अनुसार विधिसम्मत बजेट प्रस्तुत गरेका छौँ ।’

सबैका माग र अपेक्षालाई एकै वर्षको बजेटमा समेट्न नसकिँने भन्दै मन्त्री बोहराले सबैका भावनाहरुलाई समेटेर प्राथमिकताका आधारमा बजेट प्रस्तुत गरेको बताउनुभयो । प्रतिपक्षी दलका सांसदहरुले संसदमा विरोध गरेपछि असार १२ गते ३ बजेसम्मका लागि सांसद स्थगित गरिएको छ । 


 

अन्तिम अपडेट: असार ३२, २०७५

तपाईको प्रतिक्रिया