विप्लव नेतृत्वको नेकपालाई  हातहतियार बुझाउन सरकारकाे ३५ दिने अल्टिमेटम

 फागुन ३०, २०७५ बिहिबार १७:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई  हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ ।

मन्त्रिपरिषद्का पछिल्ला  बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सधैँ तयार रहेको स्पष्ट गर्नुभयो । 

विप्लव नेतृत्वकाे नेकपाले राजनीतिक भन्दा पनि आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्री बाँस्काेटाले जानकारी दिनुभयाे । सिंहदरबारमा रहेकाे सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो, ' वार्ताका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।'

सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन समूहसँग गरिएको सहमतिको प्रसंग निकाल्दै सञ्चार मन्त्री बाँस्कोटाले विप्लवलाई पनि त्यस्तै स्वागत गर्न सरकार आतुर रहेको बताउनुभयो । 

विप्लव नेतृत्वको नेकपालाई पटक–पटक वार्ताका लागि पहल गर्दा पनि बेवास्ता गरेको बताउँदै मन्त्री बाँस्कोटाले अझै पनि वार्तामा आए रातो कार्पेट नै ओछ्याएर नै स्वागत गर्ने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले कुनै पनि राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाटै होस् भन्ने सरकारले चाहेको पनि बताउनुभयो ।  

मन्त्री बाँस्कोटाले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सहमतिमा उल्लिखित जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ चुनावबाट जनताले अभिव्यक्त गर्ने मत भएको जनाउनुभयो । उहाँले भन्नुभयो, 'सीके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्‍यो । भोलि विप्लव समूह पनि आएमा सरकारले त्यसरी नै स्वागत गर्छ ।' 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया