हेटौँडाका कुखुरामा बर्ड फ्लू भएको पुष्टि

 फागुन ३०, २०७५ बिहिबार १८:४०:७ | हरि हुमागाईं

मकवानपुर –  हेटौँडामा किसानहरुले पालेको कुखुरामा बर्ड फ्लू रोग देखा परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–७, नागस्वतीका किसान कुलप्रसाद चौलागाईको फार्मको कुखुरामा बर्ड फ्लू भएको पशुसेवा विभागले पुष्टि गरेको हो ।

यही फागुन १३ गतेबाट लगातार रुपमा नागस्वती क्षेत्रका कुखुराहरु खोरै रित्तिनेगरी मर्दै आएका थिए । तर जिल्ला पशु सेवा कार्यालय मकवानपुर र पशुसेवा विभागको लापर्वाहीबाट चौलागाईको मरेको कुखुरामा गरिएको परिक्षणको रिपोर्ट ढिला आएकाले आज मात्र यस क्षेत्रका कुखुरामा बर्ड फ्लू भएको पुिष्ट भएको हो । कुखुरामा बर्ड फ्लू रोग निम्तिएसँगै यस क्षेत्रका कुखुरा, अण्डा, सुलीलगायतका बस्तु बिक्री वितरण गर्नका लागि मकवानपुर प्रशासनले रोक लगाएको छ ।

आजै मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्ड फ्लू भएको क्षेत्रमा चारकिल्ला प्रमाणित गरेर कुखुरा र कुखुराजन्य पदार्थ बिक्री वितरण र बाहिर निकालेर अन्य क्षेत्रमा लैजानका लागि रोक लगाइएको छ । चौलागाईले पालेको लेयर्स कुखुरा परीक्षण गर्दा बर्ड फलू रोग लागेको पुिष्ट भएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख चेतनारायण खरेलले बताउनुभयो । 
      
यस क्षेत्रमा  ६ वटा कुखुरा खोरमा १८ हजार कुखुरा रहेका छन् । यी सबै कुखुराहरु मार्नुपर्ने अवस्थामा पुगेका छन् । यसक्षेत्रमा १७ दिन अगाडि नै कुखुरामा रोग देखिए पनि चौलागाईको खोरसहित यस आसपासका केही कुखुरा खोरहरुका सबै कुखुरा यस अघि नै मरिसकेको हेटौँडा–७, आदर्श टोलका किसान नोखबहादुर लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया