कम्युनिष्ट दाजुभाइका चित्त दुखाइ र अंश झगडा !

 चैत २, २०७५ शनिबार ८:१९:४९ | मिलन तिमिल्सिना
unn.prixa.net

क्रान्तिको राप र तापले धपक्क बलेका दुई अनुहार ! एउटा अनुहारको नाम विप्लव, अर्कोको नाम प्रचण्ड ! एउटाको नाम सुन्दा अहिल्यै जमिन मुनिबाट आगै निस्केर प्रलय आउला जस्तो ! अर्कोको सुन्दा जमिनका रुखपात सोहोर्दै आँधी नै आउला जस्तो ! तर, दुवैजनाका दुई कुरा मिल्दाजुल्दा छन् ।

उनीहरु हँसाउन र रुवाउन खप्पिस छन्, कहिले बन्दुकका बलमा, कहिले भावनाका बलमा । एकजना भावुक भाषण गर्छन् र दिवंगत पद्मरत्न तुलाधरलाई सम्झाउँछन् । अर्का कोमल कविता लेख्छन् र मानिसलाई भावुक बनाउँछन् । अथवा दुवै जना रुन र रुवाउन माहिर छन् ।

परिवार फुटाउन र चिरा पार्न बाहिरी हातभन्दा घरभित्रैका हतियार बढी काफी छन्

कहिले भाषणले रुवाउँछन्, कहिले कविताले भावुक बनाउँछन् । तर कविता र भाषणले भन्दा धेरै समय बन्दुक, बारुद र हात हतियारले रुवाउँछन् । सुन्दा कथा लाग्ला धेरैलाई, तर कथा जस्तो लागे यसलाई संयोग मात्र मानेर पढ्नु होला ।   

एकादेशमा होइन, यही देशमा २००६ सालतिर एउटा घर बन्यो । कम्युनिष्ट राखेर बल्लबल्ल बनाएको नयाँ घरमा केही दिन परिवारका सबै सदस्य हाँसीखेली रमाएर बसे । दिन बित्दै जाँदा परिवारको संख्या बढ्दै गयो । परिवारको संख्यासँगै चित्त दुखाइ पनि बढ्न थाल्यो । अनि घरमूली को हुने र घरको डाडुपन्यू कसले चलाउने भन्ने विषयमा पनि मनमुटाव बढ्न थाल्यो । 

एउटै परिवारमा खाँदिएर बस्दा सबै दाजुभाइलाई घरमूली हुने अवसर मिलेन । दाजुभाइले नै पालो नपाएपछि दिदीबहिनीको त झन् पालो आउने कुरा नै भएन । मूलीको लागि पालो पर्खंदापर्खंदै मूलामा काठ पसेझैँ बेला बित्न लाग्यो । एउटै घरमा बसेर कचकच गर्नुभन्दा छुट्टिएर मूली बन्नुको फाइदा बढी हुन्छ भन्ने सबै दाजुभाइले बुझे । मूली बन्न खोज्दा मूलै हुन परे पनि उनीहरुलाई यही निको लाग्यो ।

एउटाले ‘तँलाई मार्छु’ भनेपछि अर्कोलाई पनि पारो चढ्छ र भन्छ, ‘हेरौंला तँलाई मेरो आँगन वरपरसमेत आउन दिन्नँ, मेरो वरिपरि नै पर्न दिन्नँ, तँलाई हिँड्नै नदिएपछि कसरी मार्ने रहेछस् ?’

त्यसमाथि परिवार ठूलो आकारको भन्दा सानो आकारको हुँदा छरछिमेकसँग मिलेर घुसपैठ र चलखेल गर्न सजिलो हुन्छ । कहिले यसकोमा, कहिले उसकोमा छिर्दै, आड लिँदै पालैपालो भान्सामा ओहोरदोहोर गर्न पाइन्छ । ठूलो परिवारमा रुमल्लिएर हराउनुभन्दा एक्लिएर स्वाद लिनुको मजा नै बेग्लै हुन्छ । 

परिवार फुटाउन र चिरा पार्न बाहिरी हातभन्दा घरभित्रैका हतियार बढी काफी छन् । चरचर चिरा पार्ने हँसिया र ब्वाङ कि ब्वाङ ठोकेर चोइटाउने हथौडा खोज्न अन्त भौँतारिनु नै पर्दैन । अनि हँसियाभन्दा तिखा जिब्रा सबै दाजुभाइको मुखभित्र छ ।

धार भुत्तिन लागेको हँसिया उदाउँदै र टाउको खियिएर दोब्रिन लागेको हथौडा सोझ्याउँदै उनीहरु बेलाबेला घरको भित्ता फोर्न र थाम काट्न जाइलाग्छन् । आफ्नै खुट्टामा घाउ लागेको पत्तो नपाएर उनीहरु घर भत्काएर निस्कन पाएकोमा खुशी हुन्छन् । छोडेर हिँडेको घरलाई धारे हात लगाउँछन् । 

घर छोडेर हिँडेपछि अस्तिसम्म मिलेर बसेको परिवारका सदस्य नै सबैभन्दा मन नपर्ने शत्रु ठहरिन्छ । आफू बस्दासम्म चिरिच्याट्ट मिलेको घरलाई उनीहरु कुरुप र काम नलाग्ने देख्छन् । हँसियाभन्दा तिखो जिब्रो भएका उनीहरु छुट्टाभिन्न हुनेबित्तिकै अघिसम्म अँगालोमा बेरिएको अर्कोलाई सत्तोसराप गर्छन् ।

भित्तामा रहेको ठूलो ऐना अगाडि उनीहरु आफ्नै सहगोत्रीलाई चोर औँला ठड्याइ–ठड्याइ गाली गर्छन् । विसर्जनवादी, फूटवादी, पदलोलुपतावादी, अन्तर्घाती, आत्मघाती, अवसरवादी मात्रै होइन चोर, फटाहा, गधा, तँलाई हरियो बाँसमा.....सम्म भन्न पछि पर्दैनन् । कतिले त अहिले आएका नयाँ सिनेमा प्रयोग हुने गालीलाई समेत उछिन्ने गरी ऐना हेर्दै र आकाशतिर थुक्दै गाली बर्साइरहेका छन् ।

पछि हुँदै गएपछि फेरि त्यही थुकेको र गाली गरेको मान्छे प्यारो हुन थाल्छ । अघिसम्म अँगालोमा रहेको अर्को भाइ शत्रु हुन पुग्छ । 

यसैगरी मूली र भान्से बन्न खोज्ने होडबाजीमा रुमल्लिँदै, कहिले यसको र कहिले उसको हात समाउँदै हिँडेका दाजुभाइहरु अहिले दुई किनारामा बाँडिएका छन् । एउटाको हातमा डाडुपन्यू छ, अर्कोको हातमा केही न केही । डाडुपन्यू हातमा भएका दाजुभाइको समूहमा पनि सबैलाई भाग पुगेको छैन । त्यहीँ चित्त दुखाइ छ । 

अनि हात खाली भएका समूहमा भएकाहरु त सबैको हालत उस्तै । त्यसैले खाली हात भएकाको समूह एकजुट छ । भरी हात भएका समूहमा चाहिँ टुटफुट र गुट उपगुट छ । तर भर्खर जमघट हुन थालेकाले कसैले पनि घर छाडेर हिँड्ने आँट गरिसकेको छैन । आफूआफूमै चित्त दुखाएर बसिरहेका छन् । अर्कै समूहमा रहेको भाइहरुलाई त डाडुपन्यू बोकेर बसेका दाजुभाइसँग ठूलो चित्त दुखाई छ । 

एउटै नामको घर बनाएर दुईतिर बाँडिएका दाजुभाइहरुको चित्त दुखाइसँगै घोचपेच बढ्न थालेको छ । दाजुभाइबीच झगडा हुँदा एकले अर्कोलाई ‘पख तँलाई नमारी छाड्दिनँ’ पनि भन्छ । एउटाले ‘तँलाई मार्छु’ भनेपछि अर्कोलाई पनि पारो चढ्छ र भन्छ, ‘हेरौंला तँलाई मेरो आँगन वरपरसमेत आउन दिन्नँ, मेरो वरिपरि नै पर्न दिन्नँ, तँलाई हिँड्नै नदिएपछि कसरी मार्ने रहेछस् ?’

अहिले दाजुभाइ यही शैलीमा दुनियाँ हँसाउने गरी गालीगलौज उत्रिएका छन् । भिडन्तमै उत्रनेगरी एकअर्कोलाई तथानाम भन्दैछन् । ठूलो परिवारमा जम्मा भएका केही दाजुहरुको हातमा डाडुपन्यौ भएको सानो परिवारमा रहेका भाइहरुलाई चित्त बुझेको छैन । आफूले गरिखाएको देख्न नसकेर बेला न कुबेला निहुँ खोज्ने भाइहरुको पारा दाजुहरुलाई मन परेको छैन ।

हातमा डाडुपन्यू नपाएको झोँकमा बारुद र पटका समातिरहेका भाइहरुलाई दाइहरुले ‘चुप लागेर बस्’भन्दैछन् । पहिले आफूले डाडुपन्यू समाउन नपाउँदा त्यही बारुद र पटका समाएको कुरा दाजुहरुले बिर्सिसके । अब बारुद र पटका होइन, जनताको मनजितेरै डाडुपन्यू समात्ने ठाउँमा पुग्न सकिन्छ भन्ने कुरा थाहा भएर पनि भाइहरु बेवास्ता गर्दैछन् । पहिले त्यही बाटो हिँडेर भान्सामा आइपुगेका दाइहरु भाइहरुलाई भन्छन् – ‘अरुसँग पैसा उठाएर डरधम्की देखाउन छाड ।’ भाइहरु जवाफ फर्काउँछन् – ‘पैसा उठाउन र बन्द गर्दै हिँड्न पाउनु त हाम्रो नैसर्गिक अधिकार हो, हामीलाई रोक्न खोज्यौ भने राम्रो हुने छैन ।’

दाइहरु भन्छन् – ‘तिमीहरुले हामीलाई मार्ने भन्यौ रे, आफ्नै दाइलाई मारेर के पाउँछौ ? धेरै बकबक नगर । हामीजस्तै बन्न नखोज । बरु आउ छलफल गरौँ ।’

दाइहरुले बाहिर आँगनमै निस्कन दिन्नौँ भनेको सुनेर रिसाएका भाइहरु भन्छन् – ‘हामीलाई छेकथुन गरेर छलफलमा आउ भन्न सुहाउँछ ? ठूलो भएँ भनेर निहुँ नखोज दाइहरु, हामीले पनि जानेका छौँ देखाउन ।’

दुईथरी दाजुभाइको यो चित्त दुखाइ, भनाभन, अंशको लागि हानथाप, स्थान, स्वभाव र चरित्रले छिमेकी हाँस्न थालेका छन् । 

दाजुभाइ मिलेर घर, परिवार, बाटोघाटो, पुलपुलेसा बनाए हुन्थ्यो भन्ने आशा गर्नेहरु निराश भएका छन् । आश गर्नेहरुको आश बढाउनभन्दा निराशामै निराशा थप्न बानी भएका दाजुभाइहरु सबै कुरा बुझेर पनि एकअर्कासँग दुखेको चित्त देखाउँदै र अंशबण्डाकै लागि एकअर्कातिर फर्किएर पाखुरा सुर्कंदैछन् ।

दाजुभाइको यो कथा दुई नेकपासँग मिल्न गएमा संयोग मात्र हुनेछ । 

अन्तिम अपडेट: बैशाख २, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया