बल्ल पूरा भयो सप्तरीबासीको जहाज चढ्ने सपना, सातामा पाँच दिन नियमित उडान

 असार ११, २०७५ सोमबार २०:४१:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी –आफ्नै जिल्लाको विमानस्थलबाट राजधानी काठमाडाैंको यात्रा गर्ने सप्तरीबासीको सपना वर्षौंपछि बल्ल पूरा भएको छ ।

श्री एयरलायन्सको ९ एमएको ५० सिटको जेट विमानले जिल्लाका सर्वसाधारणको सपना पूरा गर्न सफल भएको हो । काठमाडौंबाट २.२९ बजे उडेको त्यो जहाज २.५२ बजे राजविराज विमानस्थलमा अवतरण भएको थियो । उक्त विमानले काठमाडौंबाट ४२ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको राजविराज नागरिक उड्डयन कार्यालय राजविराजले जनाएको छ ।

श्री एयरलायन्सबाट यात्रा गरेर आएका तथा यात्रा गर्नका लागि विमान चढ्दै गरेका यात्रुहरुलाई राजविराज नगरपालिका र सप्तरी उद्योग वाणिज्य संघको तर्फबाट गम्छा र फूलको माला लगाएर स्वागत तथा विदाई गरेका छन् । यात्रुहरुलाई जुस, बिस्कुट पानी लगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको छ ।

विमानबाट मुस्कुराउँदै ओर्लिंदै गरेका सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले आफ्नै जिल्लाको विमानस्थलबाट यात्रा गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज म ज्यादै खुशी छु, मलाई विश्वास छ अब सप्तरी जिल्लाको आर्थिक समृद्धि चाडै हुनेछ ।’ यस्तै काठमाडौं जान लागेका राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले गृह जिल्लाबाटै जहाज चढेर काठमाडौंसम्म जान पाउनु सौभाग्यको कुरा भएको बताउनुभयो ।

पहिला काठमाडाैं जान विराटनगर तथा जनकपुर धाउनु परेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘यो विमानस्थलबाट विमान उड्नु जिल्लावासीको लागि खुशीको क्षण हो, यो खुशीलाई सदाका लागि हामी सबै मिलेर कायम राख्नुपर्छ ।’ यसैगरी राजविराज वडा नम्वर ६ कि श्रद्धा पोखरेललाई राजविराजबाटै जहाज चढेर काठमाडौं जानका लागि झण्डै ९ दिन कुर्नुपर्‍यो तर पर्खाइको पीडा भन्दा उहाँमा खुशीको अनुभूति छ ।

शुरुमा असार १ गतेदेखि नै विमान सञ्चालन हुने खबर आए पनि पछि १० गते मात्रै उडान हुने भएपछि आफूले कुरेर भए पनि अन्यत्र नगई आफ्नै जन्मथलोबाट विमानमा यात्रा गर्न पाउँदै अत्यन्त खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सप्तरीवासीलाई मेरो आग्रह यतिमात्रै छ कि यो विमानस्थल कहिले पनि बन्द नहोस्, यसका लागि आ–आफ्नो सशक्त भूमिका निर्वाह गर्नु आवश्यक छ ।’

विमानस्थलको निर्माण कार्य सकिएपछि गएको जेठ ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । वि.सं. २०१६ सालमा केही समय मात्र हवाई सेवा सञ्चालन भएर कच्ची धावनमार्गका कारण बन्द रहेको विमानस्थलमा पक्की धावनमार्ग निर्माण भएपछि नियमित हवाई सेवा आइतवारदेखि सुरु भएको हो ।

सुरुवातका केही दिन शनिबार र मंगलवार बाहेक साताको ५ दिन नियमित विमान सेवा सञ्चालन हुने जनाइएको छ । काठमाडौंबाट ५० सिटको जेट विमान १.१० मा राजविराजका लागि उड्ने तथा राजविराजबाट २.१० मा उड्ने समय निर्धारण भएको छ ।

हवाई सेवा सञ्चालन भएपछि सप्तरीबाहेक सिरहा, उदयपुर, ओखलढुंगाका साथै भारतबाट पनि पशुपतिनाथ दर्शनका लागि यात्रुहरु आकर्षित हुने भएकोले पर्यटनको माध्यमले आर्थिक उन्नति हुने जिल्लावासीको विश्वास छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया