कर्णालीमा अनुमतिबिनै बालुवा उत्खनन्, स्थानीय सरकार बेखबर !

 चैत २, २०७५ शनिबार १२:२१:१३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली नदीबाट अनुमतिबिना नै बालुवा उत्खनन् हुने गरेको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर–२, बोला अन्र्तगत कर्णाली नदी किनारबाट बालुवा निकाले पनि स्थानीय सरकार भने यसबारे बेखबर जस्तै छ ।  

बस्ती र खेतबारीलाई जोखिममा पर्ने गरी बालुवा निकाल्ने गरेको स्थानीयको गुनासो छ । पटक–पटक आएको बाढीले स्थानीयको खेतबारीसमेत कटान गरेको अवस्थामा त्यसै ठाउँबाट बालुवा निकाल्दा आफूहरुलाई जोखिम रहेको बोलाबासीहरुको भनाइ छ । 

नदीले खेतीयोग्य जमिन कटान गर्दै गएको र बस्ती नै जोखिममा पर्ने गरेकै स्थानबाट बालुवा निकाल्ने काम भइरहेको स्थानीय कृष्णकला शाहीले बताउनुभयो । बालुवा लिनेले स्थानीय सरकारबाट अनुमति नलिएको उहाँको भनाइ छ । 

जथाभावी रुपमा बालुवा उत्खनन् गर्दा कर्णालीको तिरमा रहेको बोला गाउँ नै जोखिममा परेको छ । बस्ती जोखिममा पर्ने अवस्था हुँदा पनि स्थानीय सरकार मौन बसेको उहाँले बताउनुभयो । ‘हाम्रै अगाडिबाट बालुवा निकालेर लैजान्छन् । हामीले बस्तीलाई असर गर्छ भनेर रोक्न खोजे पनि सकेनौँ’, उहाँले भन्नुभयो, ‘पहिला पटक–पटक आएको बाढीले पनि खेतबारी बगाइसकेको छ । तर स्थानीय सरकार मौन बसेको छ ।’ बालुवा अवैध रुपमा उठाएर लैजाँदा नियमन नभएको उहाँको गुनासो छ । त्यहाँबाट बालुवा लैजान्छन् भन्ने वडा अध्यक्षलाई थाहा भए पनि वडा अध्यक्षले बेवास्ता गरेको उहाँको भनाइ छ । 

‘यदि अनुमति दिएर बालुवा उत्खनन् गर्न दिएको भए हाम्रो पनि रोजगारी हुने थियो’, उहाँले भन्नुभयो, ‘यहाँका पुरुषहरु कमाउन इन्डिया जाने गर्दछन् । घरनजिक स्रोतसाधन छ तर बाहिरकाले बस्ती नै जोखिमा पर्ने गरी फाइदा उठाइरहेका छन् ।’

एक ठाउँबाट बालुुवा ननिकाल भनेपछि अर्को ठाउँमा गएर बालुवा निकाल्ने गरेको उहाँले बताउनुभयो । ‘ठाउँठाउँबाट मनपरि रुपमा बालुवा निकालेर लैजान्छन्’, स्थानीय इन्दिसरा शाहीले भन्नुभयो, ‘बालुवा लिन आइरहेका हुन्छन् । वडा अध्यक्षले थाहा पाएर पनि केही भन्दैनन् । सस्तो बालुवा छ लिन दिउँ भन्छन् ।’  प्रायः दैनिक रुमा ट्रयाक्टर आएर  बालुवा उठाएर लैजाने गरेको उहाँले बताउनुभयो । 

यहाँको मुख्य स्रोत गिट्टी बालुवा भए पनि यसको सही सदुप्रयोग नभएको स्थानीय घनश्याम बमले बताउनुभयो ।  स्थानीय सरकारले नदीजन्य बस्तु निकासीका लागि राजश्व लिने व्यवस्था गरेको छ । तर चौकुने गाउँपालिकामा  नदीबाट बालुवा निकालेबापत अहिलेसम्म स्थानीय सरकारलाई कसैले पनि राजश्व तिरेका छैनन् । 

गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले नदीबाट बालुवा निकालेको बारेमा आफूलाई थाहा नभएको बताउनुभयो । ‘गाउँघरमा हुने विकास निर्माण र घरहरु बनाउँदा बालुवा निकालिएको हुन सक्छ । हामीले यसअघि गाउँपालिकाको खोलानालाबाट गिट्टी बालुवा उत्खनन्का लागि टेण्डर आह्वानसमेत गरेका थियाैँ। त्यस बेलामा कोही पनि आउनु भएन्’, अध्यक्ष शाहीले भन्नुभयो, ‘जथाभावी रुपमा उत्खनन् भएको पाए हामी कारबाही र नियमन गछौँ ।’

 

अन्तिम अपडेट: चैत १२, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया