कार्य विभाजन हेरफेर सामान्य विषय हाे, बसुन्जेल जनताको पक्षमा काम गर्छु : उर्जामन्त्री पुन

 चैत ३, २०७५ आइतबार १८:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उर्जा, जलस्रोत तथा सिंँचाईमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताउनु भएको छ ।

मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको पनि स्पष्ट पार्नुभयो । आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय सामान्य भएको र बसुन्जेल देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने आफ्नो योजना रहेको पनि बताउनु भयो ।

मन्त्री पुनले आफ्नो मन्त्रालयले सबैभन्दा बढी कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दावी पनि गर्नुभयो । सिँचाईतर्फ २ हजार ३ सय कर्मचारीमध्ये  एक हजार ६ सय भन्दा बढी कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरिएको उर्जा, जलस्रोत तथा सिंँचाई मन्त्रालयको एक वर्षे प्रगति विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री पुनले सिंँचाईतर्फ २८ प्रतिशत मात्रै कर्मचारी संघ मातहत राखेर अन्यलाई संघीयताको भावना अनुसार प्रदेश र स्थानीय तहमा परिचालन गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री पुनले आफूले एक वर्षे कार्यकालमा राष्ट्रिय जलस्रोत नीति तर्जुमा गरेको तथा जलस्रोत ऐन प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँडसहित तयार पारिएको पनि स्मरण गराउनु भयो । उहाँले ३ वर्षभित्र सम्पन्न हुने गरी नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री पुनले ९ सय ८२ मेगावाट जलविद्युत आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको पनि बताउनु भयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया