साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने

 चैत ३, २०७५ आइतबार १७:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ ।

समुह बीको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–०.गोलले हराएपछि नेपालले श्रीलंकालाई प्रतिद्धन्द्धी पाएको हो । 

शहीद रंगशाला विराटनगरमा भएको खेलमा भारतले सुरुवातदेखि नै श्रीलंकाको पोष्टमा आक्रमण गरेको थियो । जसका कारण उसले सात मिनेटभित्रमा नै दुई गोल गर्न सफल भयो ।

खेलको चौथो मिनेटमा ग्रिस डाङमेको गोलमा भारतले अग्रता बनायो । प्रतियोगिताको उनको यो दोस्रो गोल हो । त्यसपछि सातौ मिनेटमा भारतले दोस्रो गोल गर्यो । उसका लागि संध्या रंगनाथनले गोल गर्न सफल भइन् । त्यसपछि पनि भारतले आफ्नो आक्रमणलाई कायमै राख्यो ।

२१ औं मिनेटमा भारतको डरलाग्दो मौकालाई श्रीलंकाकी गोलकिपर विजयरत्नाले बचाइन् । २५ औ मिनेटमा भारतको अर्को प्रहारलाई श्रीलंकाको डिफेन्सलाइनले बचायो । त्यसपछि खेलको ३६ औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई तीन शून्यकाे अगेरता दिलाइन् ।

४२ औं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । भारतकी सञ्जुको प्रहार रोक्ने क्रममा श्रीलंकाली खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई संगिताले गोल गर्दै टिमलाई पहिलो हाफमा चार शून्यको अग्रता दिलाइन् ।

पहिलो हाफमा चार गोलको अग्रता बनाएको भारतले दोस्रो हाफको सुरुवातमा नै पाँचौ गोल गर्‍याे । ४६ औं मिनेटमा रतनबालादेवीले गोल गर्न सफल भइन् ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र भारत समूह बी बाट विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । हारपछि पनि उपविजेता बनेकाे श्रीलंकाले सेमिफाइनलमा बुधबार नेपालसँग र भारतले बंगलादेशसँग खेल्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया