व्यापारी भन्छन् : नेपालमै बनेको गाडी बेच्न आतुर छौँ

 चैत ४, २०७५ सोमबार १०:३९:२४ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – नेपालमै चार पाङ्ग्रे गाडी उत्पादन गर्ने गरी दक्षिण कोरियाली कम्पनीलाई लगानी बोर्डले स्वीकृति दिएपछि के अब नेपालमा नै गाडीको उत्पादन हुन्छ त भन्ने जिज्ञासा उब्जिएको छ । 

यसअघि पनि नेपालमा चार पाङ्ग्रे गाडी उत्पादन नभएको भने होइन । तर त्यसबेला विभिन्न कारणले गाडी उत्पादन रोकिएको थियो । अहिले फेरि नेपालमा नै गाडी उत्पादन गर्ने भन्दै कोरियाली कम्पनीले गरेको लगानी प्रस्ताव सरकारले स्वीकृत गरेको छ । 

लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालले कोरियाली कम्पनीले प्रस्ताव गरेको लगानी स्वीकृत गरेको भए पनि अहिले नै लगानी भित्रिसकेको भनेर बुझ्न नहुने बताउनुभयो । ‘अझै धेरै चरणहरुमा छलफल हुन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘यो भनेको त पहिलो चरणको प्रारम्भिक काम मात्रै हो ।’ 

कोरियाली कम्पनीले गरेको लगानी प्रस्तावलाई स्वीकृत गर्ने काम भएको भन्दै उहाँले अब कम्पनीको तर्फबाट र नेपाल सरकारको तर्फबाट सम्भाव्यता अध्ययनका काम हुन बाँकी रहेको बताउनुभयो ।  

वैदेशिक लगानी आकर्षित गर्न सरकारले चैत दोस्रो सातामा लगानी सम्मेलन नै गर्दै छ । 

केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको एक वर्ष बितिसक्दा समेत वैदेशिक लगानी भित्रिन हम्मे परिरहेको अवस्थामा कोरियाली कम्पनीले लगानी प्रस्ताव गर्नु नै ठूलो उपलब्धि भएको अर्थविद्हरु बताउँछन् ।  

कम्पनीले गाडी बनाउन भन्दै गरेको १० अर्ब ५४ करोड रुपैयाँको लगानी प्रस्ताव यो सरकार बनेयताकै सबैभन्दा ठूलो वैदेशिक लगानी हो । लगानी सम्मेलन पनि नजिकिँदै गरेको बेला भएको यो स्वीकृतिले अन्य विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्ने उत्साह थप्ने विश्वास सरकारले लिएको छ ।  

नेपालमा शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउन सरकार तयार रहेको भन्दै लगानी गर्न विदेशी लगनीकर्तालाई सरकारले आह्वान गर्दै आएको छ ।  

नेपालमै बनेको गाडी बेच्न आतुर छौँ  

नेपालमा नै गाडी उत्पादन गर्छु भनेर कोरियाली कम्पनीले लगानी गर्न खोज्नु स्वागतयोग्य भएको नेपाल अटोमोबाईल्स डिलर्स एसोसियसनका अध्यक्ष शम्भुप्रसाद दाहालले बताउनुभयो । 

अब कम्पनी स्थापना गर्न चाहिने जग्गा तथा अन्य विभिन्न अवरोधलाई पनि हल गर्न सरकारले सहयोग गर्नुपर्ने भन्दै लगानी स्वीकृत हुनु मात्रै ठूलो उपलब्धिको रुपमा लिन नहुने उहाँले बताउनुभयो । 

लगानी स्वीकृति अहिले सरकारलाई देखाउनका लागि ठूलो होला तर पछि फेरि लगानी गर्ने वातावरण नबनेर कम्पनी फर्कियो भने अवस्था उस्तै रहने भन्दै त्यसका लागि सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

सबै समस्या समाधान भएर कम्पनीले गाडी उत्पादन थाले आफूहरु नेपालमा नै बनेको गाडी बिक्री गर्न आतुर रहेको पनि उहाँले बताउनुभयो । तर गाडीमा लाग्ने विभिन्न पार्टपूर्जा मात्रै बनाउने कम्पनीले नेपालमा गाडी नै बनाउँछु भन्दै गरेको लगानी प्रस्तावले साँच्चै गाडी बनाउन सक्ला र भन्ने खालका प्रश्न भने उब्जाएको उहाँले बताउनुभयो । 

एसोसियसनका महासचिव सुनिल रिजाल पनि अहिलेसम्म गाडी निर्माण गरेको अनुभव नभएको कम्पनीले गाडी निर्माण गर्छु भनेर लगानी गर्न खोज्नुले प्रश्न उब्जाएको बताउनुहुन्छ । 

‘गाडीको पार्टपूर्जा (इन्फोटेन्मेन्ट एसेसरिज)हरु बनाइरहेको कम्पनीले गाडी बनाउनै सक्दैन भन्ने हुँदैन,’ रिजालले भन्नुभयो, ‘उत्पादन गर्न सक्ला तर उत्पादन अनुभव नहुँदा जटिलता भने देखिने छ ।’ 

कोरियन कम्पनीसँगको लगानी स्वीकृति अबको दश दिनपछि हुन लागेको लगानी सम्मेलनमा देखाउनका लागि मात्रै हुने हो कि भन्दै अध्यक्ष दाहालले आशंका पनि व्यक्त गर्नुभयो । 

गाडी उत्पादनको अनुभव छैन

कोरियन कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादन गर्ने भन्दै प्रस्ताव गरेको १० अर्ब ५४ करोड रुपैयाँको लगानी सरकारले स्वीकृत गरेको हो । 

तर गाडी उत्पादनको अनुभव भने यो कम्पनीसँग छैन । स्थापनादेखि अहिलेसम्म यो कम्पनीले गाडीमा राखिने विभिन्न इन्फोटेन्मेन्ट (एसेसरिज) सामानहरु मात्रै उत्पादन गर्दै आएको छ । 

दक्षिण कोरियाली कम्पनी मोट्रेक्सको कार्यालय

२००१ मा कोरियामा स्थापना भएको यो कम्पनीको वेबसाइटमै यसले आफूले गर्ने कामको विवरण खुलाएर राखेको छ । ‘अडियो भिज्युअल नेभिगेशन र अडियो भिडियोलगायतका अन्य इन्टरटेनमेन्टका सामाग्री कार उत्पादकको अनुरोधमा उत्पादन गर्छौँ,’ भनेर उसको आधिकारीक वेबसाइटमै उल्लेख छ ।

कम्पनीले गाडी उत्पादनको अनुभव नरहेको बताइरहँदा नेपालमा गाडी उत्पादन गर्ने भनेर लगानी प्रस्ताव गर्नु चुनौतीको विषय भएको ठान्नुुहुन्छ, नाडाका महासचिव सुनिल रिजाल । ‘गाडी उत्पादनमा वर्षौँ विताएका कम्पनीहरुले नेपालमा गाडी उत्पादन थालेका छैनन्,’ उहाँले भन्नुभयो, ‘तर गाडी उत्पादन अनुभव नभएको कम्पनीले लगानी प्रस्ताव गर्नु ठूलै चुनौती हो ।’  

केही वर्ष अघि नेपालमै उत्पादन गरिरहेको कम्पनीले पनि विभिन्न समस्या देखाएर गाडी उत्पादन बन्द गरेको उहाँ सम्झनु हुन्छ । स्थानीय लगानीकर्तालाई त काम गर्न गाह्रो हुने यहाँ विदेशी लगानी कर्तालाई काम गर्न झनै गाह्रो देख्नुहुन्छ नाडाका महासचिव रिजाल । 

अध्ययन हुनै बाँकी

विदेशी लगानीकर्ताले नेपालमा काम गर्नुपूर्व केका लागि काम गर्न लागेको हो सबै खुलाएर लगानी स्वीकृत गराउनुपर्छ । कोरियन कम्पनीले पनि गाडी बनाउँछु भन्दै लगानी प्रस्ताव गरेको र त्यसलाई सरकारले स्वीकृत गरेको बोर्डका प्रवक्ता रिज्यालले बताउनुभयो । 

लगानी स्वीकृत हुनु पहिलो चरणको पनि प्रारम्भिक काम मात्रै रहेको उहाँले बताउनुभयो । अब यसपछि लगानी प्रस्ताव गरेका कम्पनीले विस्तृत अध्ययन गर्ने र त्यसपछि मात्रै कम्पनी स्थापनाको काम हुने रिज्यालले बताउनुभयो । ‘नेपालमा लगानी गरेर फाइदा नहुने देखे कोरियन कम्पनीले हात झिक्न पनि सक्छन्,’ उहाँले भन्नुभयो, ‘यसका लागि नेपाल सरकारले पनि अध्ययन गर्छ र सरकारले पनि फाइदा नदेखे परियोजना रद्ध गर्न सक्छ ।’ 

नेपालमा लगानी गरेर कसरी फाइदा लिने, उद्योग कहाँ राख्ने, यहाँको मार्केट के छ ? उत्पादन पछि कसरी बिक्री गर्न सकिन्छ ? भन्ने जस्ता कुराहरुको कम्पनीले अध्ययन गरिसकेको छैन । 

नेपालमै गाडी बनाउन साढे १० अर्बको कोरियन लगानी स्वीकृत, लगानी सम्मेलनका लागि ६३ परियोजना

यो सबै अध्ययन गर्न पनि पहिला लगानी प्रस्ताव गर्नुपर्ने भएकाले सरकारले लगानी स्वीकृत गरेको प्रवक्ता रिजालले बताउनुभयो । अब छिट्टै कम्पनीले सम्भाव्यता अध्ययन थाल्ने र बोर्डले पनि यसबारेमा अध्ययन गरेर आफ्ना कुराहरु राख्ने उहाँले बताउनुभयो । 

‘नेपालमा कम्पनी राखेपछि नेपालीलाई फाइदा हुनुपर्यो भन्ने हिसाबमा हामी प्रस्तुत हुन्छौँ, उहाँहरु आफ्नो फाइदा हेर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘दुबैकाबीच सम्भाव्यता अध्ययनमा कुरा मिले उद्योग स्थापना भएर उत्पादनको काम सुरु होला ।’ 

तर कम्पनीले अहिलेको बजार मूल्यभन्दा ४० प्रतिशतसम्म सस्तोमा आफूहरुले उत्पादन गरेको गाडी उपलब्ध गराउने भनेकाले यसबाट नेपालीलाई फाइदा नै हुने उहाँले उल्लेख गर्नुभयो । 

हरेक वस्तुमा जस्तै गाडीमा पनि छिमेकी भारतसँग नै निर्भर रहनु पर्ने नेपालको बाध्यता छ ।    

नेपालको मार्केट सानो

कोरियन कम्पनीले गरेको प्रस्तावमा उसले उद्योग स्थापना गरेको सुरुको वर्षमा २ हजार र पछि २० हजारवटा ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य उल्लेख छ ।  

पहिलो कुरो गाडी उत्पादन गर्न ठूलो लगानी चाहिन्छ, त्यो कोरियाली कम्पनीले प्रस्ताव गरिसकेको छ तर लगानी सँगसँगै मार्केट पनि ठूलो नै चाहिन्छ, त्यो मार्केट नेपालसँग छ कि छैन भनेर विश्लेषण भने गर्नुपर्ने नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल बताउनुहुन्छ ।  

कम्पनीले उत्पादन गर्ने सबै गाडी नेपालमा नै खपत होलान् त ? अध्यक्ष दाहाल कोरियन कम्पनीले उत्पादन गर्ने भनेको सबै गाडी नेपालमा नै खपत भइहाल्ने अवस्था भने देख्नुहुन्न ।  

मोट्रेक्सले उत्पादन गरेकाे गाडीमा राख्ने इन्फाेटेन्मेन्ट एसेसरीज

‘नेपालमा खपत हुन नसकेको गाडी बाहिर निर्यात गर्नुपर्ने हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि भारतले पक्कै नेपालमा बनेको गाडी आयात गर्दैन होला ।’ 

त्यसो भए बंगलादेश वा पाकिस्तानको मार्केट खोज्नु पर्ने सुझाव दिनुहुन्छ दाहाल । तर त्यसका लागि पनि कम्पनीको अनुभवले काम गर्ने उहाँ बताउनुहुन्छ । ‘यदी मार्केट नै पाएन भने उत्पादन गरिरहने हुँदैन होला,’ उहाँले भन्नुभयो, ‘त्यसपछि फेरि मुस्ताङ गाडी उत्पादन गर्ने हुलास मोटर्सकै हालत दोहोरिन सक्छ ।’   

त्यसैले लगानी स्वीकृत हुन नपाउँदै नेपालमा नै गाडी उत्पादन हुन थालेको जसरी हल्ला गर्नुको औचित्य देख्नुहुन्न दाहाल ।

मुस्ताङ बन्द

सरकारले युरो थ्री मापदण्ड लागू गर्दा नेपालको चर्चित मुस्ताङ गाडीको उत्पादन बन्द हुन पुग्यो । २०७० असार ३० गतेदेखि सरकारले सवारी साधनमा यो मापदण्ड लागू गरेको थियो । त्यसको एक वर्षपछि मुस्ताङको उत्पादन बन्द भयो । 

मुस्ताङ उत्पादन गर्दै आएको हुलास मोटर्सले आफ्नो उत्पादनको प्राविधिक विस्तारमा केही समय लाग्ने भन्दै एक वर्ष माग गरेकोमा सरकारले समय नथपेपछि बाध्यभएर उत्पादन नै बन्द गर्नुपरेको उसले बताउने गरेको छ । 

शेर्पा गाडीको नाममा दह्रो गाडीको उपमा पाएको गाडीपछि कम्पनीले मुस्ताङ गाडी बजारमा ल्याएको थियो । उद्योग सञ्चालन गरेर उद्यमशिलता सिर्जना गर्न भन्दा पनि राज्य आयातमुखी व्यापारमा केन्द्रित भएकाले आफूहरुले उत्पादन नै बन्द गर्नु परेको त्यसबेला कम्पनीका प्रबन्ध सञ्चालक सुरेन्द्र गोल्छाले बताउनुभएको थियो ।  

उत्पादन बन्द हुनुअघि नेपाली बजारमा १६ देखि १८ लाखसम्ममा मुस्ताङ गाडी खरिद बिक्रि हुने गरेको थियो । स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्ने भन्दै डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेला मुस्ताङ गाडी प्रयोग गरेको भए पनि अहिले यसको उत्पादन नै बन्द भएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • organicsanu

    March 21, 2019, 8:08 a.m.

    It may come through holy wine but take it positively and pray for its success on establishment of car production plant in Nepal.

  •  0 Reply

तपाईको प्रतिक्रिया