२६ किलोमिटर पार गर्न ६ घण्टा :  बसन्तपुर–म्याङलुङ सडकमा यात्रुलाई सास्ती (फोटोफिचर)

 असार १२, २०७५ मंगलबार ८:३३:२७ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – जिल्ला भित्रिने एक मात्र बसन्तपुर–म्याङलुङ सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ । कोशी राजमार्गसँग जोडिएको यो सडक मर्मत सम्भारका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि सडक भने जस्ताको त्यस्तै रहेको छ । पाँच वर्षअघि पहिलो पटक सडक कालोपत्रे भएको थियो । अहिले कालोपत्रे उप्किएर सडक कच्ची बनेकोे छ ।

सडकको केही खण्ड भासिएको छ । वर्षायाममा सडक हिलाम्मे हुँदा २६ किलोमिटर दुरीको सडक पार गर्न सार्वजनिक गाडीलाई छ घण्टासम्म लाग्ने गरेको छ । गाडी फसेर घण्टौँसम्म सडक जाम हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुग्न मुस्किल पर्छ । हरेक दिनजसो गाडी फसेर यात्रुको बिचल्ली भइरहेको छ । साँघुरो सडक हिलाम्मे भएपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

‘घाम लाग्दा पुरै गाउँ नै ढाक्ने गरी धुलो उड्छ’, फिर्केका देवेन्द्र खड्काले भन्नुभयो, ‘फेरि दुईघण्टा पानी पर्न पाको छैन, अघि हिलाम्मे भएर आवत्जावत्मै समस्या हुन्छ ।’ हिउँदमा धुलोका बीच दुःखले गाडी सञ्चालन भएपनि वर्षाका महिना दुई वर्षदेखि निरन्तर सडक अवरुद्ध हुने गरेको छ ।

गएको वर्ष पनि वर्षाका करिब चार महिना साना गाडी बसन्तपुरदेखि यता आएनन् । यो वर्ष पनि दुई महिनादेखि साना सवारी साधनहरु बसन्तपुरबाट कटेर जान सक्दैनन् । क्षतिग्रस्त सडकमा यात्रा गर्दा बिरामी पर्ने गरी थकित हुनुपर्ने यात्रु बताउँछन् । विगतमा हरेक वर्ष सडक डिभिजन कार्यालयले मर्मत सम्भारको काम गर्दै आएको यो सडक निर्माणाधीन मध्यपहाडी लोकमार्गले जिम्मा लिएपछि मर्मतको काममा समेत ढिलाइ भइरहेको स्थानीयबासीको गुनासो छ ।

लोकमार्ग आयोजनाले सडकको चौडा विस्तार र कालोपत्रेसम्मका लागि ठेक्का लगाउने भनेपनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन । चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँको टेण्डर भएर विभिन्न खण्डमा मर्मतको काम भइरहेको लोकमार्गका इन्जियिनर सुरेश तुम्बाहाम्फले बताउनुभयो । पूर्वका झापा, मोरङ्ग, सुनसरी र धनकुटासँग जिल्लाको सदरमुकामलाई जोड्ने तथा जिल्लाका विभिन्न गाउँहरुलाई सदरमुकामसँग जोड्ने यो कालोपत्रे सडक भत्किएपछि गाडी चलाउन समस्या भएको यातायात व्यवसायी डिल्ली रेग्मी बताउनुहुन्छ ।

‘वर्षायाममा हिलो र हिउँदमा धुलोले यात्रा गर्न अत्यन्तै कठीन हुन्छ’ व्यवसायी रेग्मीले भन्नुभयो, ‘सडक मर्मतका लागि बजेट पनि आइरहेकै छ, मर्मतको काम पनि भएकै छ । तर दिगो र भरपर्दो काम नहुँदा सडकको अवस्था भने जस्ताको तस्तै छ ।’ सडक मर्मतको काममा इन्जिनियर, ठेकेदार लगायत सम्वन्धित निकायको लापरवाहीका कारण सडकको अवस्था नसुध्रिएको उहाँको आरोप छ ।

सडकको अवस्था हेर्दा यो सडकमा मर्मत सम्भारको काम भएको भनेर जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । ‘कालोपत्रे भन्नु त नाम मात्र हो, सडक हिडिसक्नु छैन’, लसुनेका शिक्षक बुद्धिराज कार्कीले भन्नुभयो । म्याङलुङबाट बस चढ्दा छ घण्टासम्म लगाएर मात्र बसन्तपुर पुगिने गरेको उहाँको भनाई छ ।

यो सडक खण्डको चित्रेदेखि बसन्तपुर बजार क्षेत्रमा समेत सडकमा कालोपत्रे उप्किएर लथालिङ्ग बनेको छ । बसन्तपुर बजार क्षेत्रकै सडक हिलाम्मे भएर आवतजावतमा समस्या भइरहेको छ । नगरपालिकाले सबैभन्दा बढी बजेट सडकमै खर्च गरेपनि सो सडकको मर्मतमा खर्च गर्न नपाएको मेयर अर्जुन माबोहाङले बताउनुभयो । सडक डिभिजनले कामको जिम्मा दिएको निर्माण कम्पनीले काम गर्न ढिलाई गर्दा बजार क्षेत्रको सडक अस्तव्यस्त बनेको उहाँले बताउनुभयो ।

सडकको भरपर्दो व्यवस्थापनका लागि जिल्लाका जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज लगायतले पटकपटक सम्बन्धित कार्यालय र मन्त्रालयसम्म पुगेर दबाब दिएको जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगाना बताउनुहुन्छ । तर सडक मर्मत र निर्माणका लागि ध्यान नपुगेको उहाँको गुनासो छ ।

 

प्रदेश सांसद तेजमान कन्दङवा सडक निर्माणका लागि आफूहरुले चाहेर पनि तुरुन्तै काम देखाउन नसकिएको बताउनुहुन्छ । सम्बन्धित मन्त्रालयमा पहल गरिरहेको भन्दै उहाँले यही वर्षदेखि मध्यपहाडी लोकमार्गले निर्माणको काम थाल्ने आश्वासन दिएको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया