दाङमा बस दुर्घटना : एक जनाकाे ज्यान गयो, ३५ घाइते

 चैत ४, २०७५ सोमबार १९:३८:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा सोमबार दिउँसाे भएको बस दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।  ३५ जना घाइते भएका छन् ।

दाङ-घोराही-होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर-१३ बाह्रकुने दहको मौलाकोट जाने चोकनजिक रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी-७, का २२ वर्षीय हर्कबहादुर पुनको ज्यान गएको हो । 

ना ४ ख ६०९४ नम्बरको बस तीव्र गतिमा रहेको र जीपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक बिकले जानकारी दिनुभयो । बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ । दुर्घटनामा अहिलेसम्म ३२ जना यात्रु घाइते भएको नामावली आएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रोल्पा माडी गाउँपालिका ३ का ६७ वर्षीय ईन्द्रबहादुर घर्तीमगर, जौलेपोखरी गाउँपालिकाका ५५ वर्षीय सम्पुरा डागी र तुलसीपुर उपमहानगरपालिका ९ का ४५ वर्षीया  रथा घर्तीलाई घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि कोहलपुर पठाईएको छ ।

अन्य घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।।

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया