भारतीय नागरिकको घरमा बाँके मालपोतको ढड्डा, किर्ते गर्ने १० जना पक्राउ

 चैत ५, २०७५ मंगलबार १५:४:५७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  भूमि सुधार तथा मोलपोत कार्यालय बाँकेको ढड्डा व्यक्तिको घरमा फेला परेको छ ।

त्यही ढड्डाको आधारमा जिल्ला प्रहरी कार्यालय कार्यालय बाँकेले सरकारी कागज किर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका ६ जना कर्मचारी, दुईजना बर्दियाका र दुईजना बाँकेका लेखनदासलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मालपोत कार्यालय बाँकेका नासु रामबहादुर खड्का, रुद्र देवकोटा र टंक शर्मा तथा कम्प्युटर कर्मचारी यज्ञश्वर वली र प्रेमचन्द्र ठकुरी पक्राउ परेका छन् । यसैगरी लेखनदास वीरबहादुर खड्का पनि पक्राउ परेका छन् ।

यसैगरी मालपोत कार्यालय बाँकेमा पहिले अधिकृत रहेकी तथा हाल जिल्ला हुलाक कार्यालय बाँकेमा कार्यरत पुष्पा श्रेष्ठलाई समेत पक्राउ गरिएको छ । यसैगरी भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका नासु कृष्णलाल शर्मा र खरिदार भूमिराज पोख्रेलसमेत पक्राउ परेका छन् । 
 
नेपालगञ्जमा बस्दै आएका भारतीय नागरिक जुनेद अन्सारी र खैरुल हसन अन्सारीले जग्गाको कारोबार गर्दै आएका थिए । झण्डै डेढ महिना पहिले जुनेद सम्पर्कविहीन  भए । हराएको भोलिपल्ट भारतमा एकजना व्यक्तिको शव भेटियो ।

केहीदिनपछि जुनेदले लगाएको कपडाको आधारमा परिवारले शवको पहिचान गर्‍यो । लगत्तै परिवारका तर्फबाट खैरुलको विरुद्धमा जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा ज्यान मुद्धा जाहेर भयो । खैरुल दुई सातादेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले मृतक जुनेदको घरबाट मालपोत कार्यालय बाँकेको सरकारी लिखत भएको प्रमाणित ढड्डा फेला पारेको प्रहरी उपरीक्षक  अरुण पौडेलले बताउनुभयो ।  ढड्डामा सरकारी जग्गाको श्रेष्ता समेत फेला परेपछि प्रहरीले सरकारी कागज किर्तेको विषयमा थप अनुसन्धान अघि बढाउँदै संलग्न देखिएका कर्मचारीलाई पक्राउ गरेको हो । 

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले आफू कार्यालय प्रमुखको रुपमा आउनुभन्दा पहिलेको घटनामा कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

मालपोतका अनुसार, बागेश्वरी मन्दिर नजिकैको खाल्डो भएको जमिन झण्डै ५ कठ्ठा र कारकादौंमा ५ कठ्ठा १३ धुर जग्गाको कागजात किर्ते गरिएको प्रहरीको दाबी छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया