१० दिनदेखि हराइरहेका युवाको अवस्था अझै अज्ञात

 चैत ५, २०७५ मंगलबार १६:८:५४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – फागुन २६ गतेबाट बेपत्ता भएका गोकुलगंगा गाउँपालिका वडा नं–४ बेतालीका बाबुराम बस्नेतको अवस्था अझै अज्ञात रहेको छ । 

गएको फागुन २६ गते घरवाट छिमेकीको विवाहमा त्यही गाउँको भुजेल टोलमा विवाहमा जन्ती गएका बाबुरामलाई स्थानिय गाउँलेले कुटपीट गरेका थिए । कुटपीटपछि उनलाई सोही गाउँका एक युवकले मोटरसाइकलमा घर तर्फ लगिदिएको स्थानियहरुले वताएका भए पनि उनी अहिलेसम्म घर पुगेका छैनन् । 

घरबाट विवाहमा जन्ती हिँडेका बाबुराम सम्र्पकमा नआएपछि घरपरिवारका सदस्यहरुले खोजी कार्यको लागि प्रहरीमा निवेदन दिएका छन् । 

फागुन २७ गतेदेखि खोजी सुरु गरिएको भए पनि बाबुरामको अवस्था अझै अज्ञात नै छ । खोजीका लागि स्थानीय, प्रहरी, घरपरिवारका सदस्य लगायतको टोली जुटेको छ । 

बाबुरामको खोजीमा जुटेको प्रहरीले उनको मोबाइलको कल डिटेल हेर्दा छिमेकी जिल्ला दोलखाको किर्नेटारसम्मको लोकेसन देखापरेको छ । त्यसपछि मोबाइल स्विच अफ भएकाले थप लोकेसन देख्न सकिएको छैन । 
थप कल डिटेल हेर्न रामेछाप अदालतसँग अनुमति मागिएको र चाँडै नै सबै कल डिटेलको आधारमा खोजी कार्य गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो । 

यता स्थानीय नेताहरुले भने घटनालाई प्रहरीले गम्भीरताका साथ नलिएको आरोप लगाएका छन् । गएको फागुन २६ गतेदेखि हराएको एक युवकको अवस्था अझै पत्ता लगाउन नसक्नु प्रहरीको कमजोरी भएको नेकपाका नेता प्रेमकुमार कार्कीले बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘एउटा व्यक्ति हराएको एक हप्ताभन्दा पनि बढी भयो । अहिलेसम्म उसको अवस्था के छ त्यति पनि पत्ता लगाउन नसक्नु प्रहरीको कमजोरी हो ।’ 
    
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया