संघीय संसदका सांसद मर्यादाक्रममा  पूर्व मन्त्रीभन्दा माथि : गृहमन्त्री थापा

 चैत ५, २०७५ मंगलबार १७:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम  पूर्व मन्त्रीभन्दा माथि नै रहने स्पष्ट पार्नु भएको छ ।

गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्नुभयाे । उहाँले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने प्रष्टयाउनु भएको हो ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले पूर्व मन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दैै गृहमन्त्री थापालाई यस सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

त्यसको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले जनप्रतिनिधिहरुको मर्यादा क्रमलाई माथि नै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्व मन्त्रीहरुभन्दा संघीय संसदका सांसदहरुको मर्यादाक्रम माथि नै रहने बताउनुभयो । उहाँले नयाँ मर्यादाक्रम मन्त्रीपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराउनु भयो ।

गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि बताउनुभयो । बैठकमा समितिका सदस्य प्रेम सुवाल लगायतका सांसदहरुले सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीको भन्दा पछाडि नराख्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसैगरी समितिका अर्का सदस्य अमरेशकुमार सिंहले जथाभावी नागरिकता वितरण गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नु भएको थियो ।

प्रमाण नपुगी नागरिकता दिने काम गर्नेलाई सरकारले कारबाही गर्नैपर्ने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया