निर्मला हत्याकाण्ड : पूर्व प्रहरी उपरीक्षक विष्टको बयान सुरु

 चैत ५, २०७५ मंगलबार १८:२१:२६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातना विरुद्धको कसुर मुद्दामा फरार रहेका पूर्व प्रहरी उपरीक्षक डिल्लीराज विष्टको प्रारम्भिक बयान सुरु भएकाे छ । 

मंगलबार निवेदनसहित अदालतमा उपस्थित भएका विष्टको प्रारम्भिक बयान जारी रहेको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ण अवस्थीले बताउनुभयो । दुईवटा मुद्दा भएकाले मंगलबार बयान लिने काम नसकिएको बुधबार पनि बयान लिइने उहाँले बताउनुभयो । 

विष्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उता, विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का डीएसपी अंगुर जिसी भने सम्पर्कमा आएका छैनन् । 

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसुरमा गएको पुस ३ गते उजुरी दिनुभएको थियो ।

मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकिन्द्र खड्का र जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षक हरसिंह धामी र रामसिंह धामी, प्रहरी जवान चाँदनी साउँद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया