१८ गतदेखि त्रिभुवन विमानस्थलमा रातिका उडान बन्द, कसरी हुँदैछ व्यवस्थापन ?

 चैत ५, २०७५ मंगलबार १८:१४:३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अर्थात विमान गुड्ने ठाउँमा धेरैपटक चिरा पर्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुरानो पिच पुरै भत्काएर नयाँ पिच हाल्दैछ ।

अहिले २१ घण्टा चल्दै आएको विमानस्थल आउँदो १८ गतेदेखि दैनिक १४ घन्टा मात्रै चलाएर धावनमार्गमा नयाँ पिच हालिँदैछ । 

दुघर्टनाको जोखिम टार्न नयाँ पिच

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच नफेरेको ५० वर्ष भैसक्यो । हरेक १०÷१२ वर्षमा पिच परिवर्तन गर्नुपर्ने भए पनि २०१२ सालदेखि ठुला विमान चल्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अहिलेसम्म पनि टालटुलकै भरमा चलाइएको छ ।

पिच नफेर्दा बेला–बेलामा पिच उप्कन्छ, अनि उडान र अवतरण बन्द गर्नुपर्छ, यस्तो गर्दा उड्ने जहाज उड्न पाउँदैनन भने काठमाण्डौ आउँदै गरेका जहाजले आकासमै फन्को लगाउनुपर्छ । 

तर यो अवस्था अन्त्य गर्न दैनिक २१ घण्टा चल्दै आएको विमानस्थल १४ घन्टा मात्रै चलाएर यही चैत १८ गतेदेखि विमानस्थलको पिच फेरिँदैछ । ३ हजार ५० मिटर लामो धावनमार्गमा ३० सेन्टिमिटरदेखि ५३ मिटरसम्म गहिराइ सम्मको पुरानो पिच फालेर नयाँ हालिनेछ । 

दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायतकाे टाेली गएकाे फागुन १३ गते धावन मार्गकाे निरीक्षणका क्रममा

‘हामीले पछिल्लो पाँच वर्षदेखि टालटुलका भरमा धावनमार्ग चलाइरहेका छौँ, अब भने हामीले पुरै पिच फेर्दैछौँ, विमानस्थलको उडान अवतरणमा असर नगर्ने गरी सबै तयारी गरेका छौँ’,  विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भन्नुभयो । 

रन वे जेरो टु अर्थात कोटेश्वरतर्फको १६ सय मिटर लामो पिच अत्यन्तै जीर्ण भैकसेकाले जेरो टु तर्फबाटै पिच सुरु गरिने पनि उहाँले जानकारी दिनुभयो । 

सबै विमान कम्पनीलाई पत्र 

धावनमार्गमा नयाँ पिच हाल्ने भएपछि अब बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेछ । अहिले राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान र अवतरण हुने विमान कम्पनीलाई जानकारी गराएर बिहान ८ देखि राति १० बजेसम्म उडान र अवतरण गर्न भनिएको छ ।

‘हामीले सबै विमान कम्पनीलाई, अब टीआईएमा राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान हुँदैन भनेर पहिले नै जानकारी गराएका छौँ, उहाँसँगको छलफलमा तालिका पनि मिलिसकेको छ’, नेपाल नागरिक उड्यन प्राधिकरणका कार्यकारी निर्देशक सञ्जिव गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो । 

कतार एअरवेज, चाइना साउथर्न, जेट एअरवेज, क्याथ वे ड्रागनलगायतका विमान कम्पनीले राती १० बजेदेखि बिहान ८ बजेभित्र त्रिभुवन विमानस्थलबाट उडान र अवतरण गर्दै आएका छन् । 

यस्तै आन्तरिक विमानले भने बिहान ८ बजेअघि नै एक दर्जनभन्दा धेरै उडान र अवतरण हुँदै आएको छ । यो सबैलाई कुशल व्यवस्थापन गर्ने विमानस्थलको तयारी छ । 

उडान र अवतरण बन्द हुन नदिन सामग्री र मेसिन स्टकमा

धावनमार्गमा नयाँ पिच हाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब ७५ करोड रुपैयाँमा चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनलाई ठेक्का दिइसकेको छ । यही कम्पनीले ट्याक्सी वेको पनि मर्मत गर्नेछ ।

कम्पनीले दैनिक ८० मिटरभन्दा बढी धावनमार्गमा पिच गरेर जेठ १५ गतेभित्र काम सक्नेछ । विमानस्थलमा अहिले दैनिक एक सय भन्दा धेरै अन्तर्राष्ट्रिय सहित दैनिक सरदर ४ सय उडान हुन्छन् ।

अहिले २१ घन्टा चल्दै आएको विमानस्थललाई १४ घन्टा मात्रै चलाउँदा भद्रगोलको डर पनि उत्तिकै छ । पुरानो पिच उप्काएर नयाँ भर्ने क्रममा कुनै ढिलाइ भएमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने डर भएकाले प्राधिकरणले पिच भत्काउने पनि उप्काउने उपकरण र सामग्री स्टकमा पनि राखेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक सञ्जिव गौतम भन्नुहुन्छ, ‘देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एकैछिन पनि बन्द हुँदा कस्तो असर पर्छ भन्ने हामीले राम्रोसँग बुझेका छौँ । अघिल्लो दिन राति १० बजे बन्द भएको विमानस्थल अर्को दिन बिहान ८ बजे जसरी पनि खुल्ने गरी धावनमार्गको पिच फेर्दैछौँ, कुनै अप्ठेरो पर्ला कि भनेर मेसिन र सामग्री स्टकमा राखेका छौँ ।’
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया