धनकुटामा आगलागीबाट चार घर जले, २ करोडभन्दा बढीको क्षति

 चैत ६, २०७५ बुधबार १२:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका–५ सदाममा आगलागीबाट चार घर नष्ट हुँदा २ करोडभन्दा बढीको क्षति भएको छ ।

बस्ती नजिक रहेको छरुवाखोलाको बगरमा रहेको काँस जलाउने क्रममा आगो हावाले उडाएर बस्तीमा प्रवेश गरेको थियो । आगलागीबाट स्थानीय काँसीबहादुर लिम्बू, शहरमान लिम्बू, औसन लिम्बू र धनवीर याखाको घरसहित गोठ जलेर नष्ट भएको चौविसे गाउँपालिका–५ का वडाध्यक्ष पदमकुमार देवानले बताउनुभयो । 

घरमा कोही नभएको अवस्थामा दिउँसो साढे २ बजे भएको आगलागीबाट चारै घरपरिवारको घर, गोठ, लत्ताकपडा, नगद, गरगहना, पसल, मिल, पशु चौपायालगायत आँप र लिचीको बगान समेत नष्ट भएको वडाध्यक्ष देवानले बताउनुभयो । 

घटना पछि बुधबार बिहान प्रहरीसहित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघको टोली घटनास्थल पुगेको छ । आगलागी पीडितहरुलाई गाउँपालिकाले तत्काल राहत स्वरुप नगद १५ हजारका दरले वितरण गरेको छ भने नेपाल रेडक्रस सोसाइटी धनकुटाले लत्ताकपडा, भाँडाकुडा र उद्योग वाणिज्य संघले खाध्यान्न वितरण गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया