रातारात नदीको धार नै परिवर्तन गरेर सुनकोशी दोहन

 चैत ६, २०७५ बुधबार १५:१९:५५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप –  व्यवसायीहरुले जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न सिन्धुली जिल्लातर्फ हुँदै बग्ने सुनकोशीको धार नै परिवर्तन गरेका छन् ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बीच सिमाना भएर बग्ने सुनकोशी नदीलाई सिन्धुलीका क्रसर व्यवसायीहरुले कोशीको धार नै परिवर्तन गरी रामेछापतर्फ फर्काएर दोहन गर्ने काम गरेका हुन् ।

सिन्धुलीका व्यवसायीहरुले मंगलबार रातभर डोजर लगाएर कोशीको धार परिवर्तन गरेर कोशीको नदीजन्य पदार्थको दोहन गर्ने काम गर्दै आएका छन् । कोशी किनारमा नियमविपरीत झण्डै एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् ।

क्रसर व्यवसायीहरुले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर २ सादिडाँडा र रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमको बोगटे भन्ने स्थानमा नदीको धार नै परिवर्तन गरेर कोशी दोहन गर्ने कामलाई तीव्रता दिँदा पनि स्थानीय प्रशासनले गैरकानुनी काम गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन् ।

अर्कोतिर व्यवासायीहरुले कोशीमा नियमविपरीत ठूलाठूला ह्यूमपाइप राखेर कोशी नै छेक्ने काम गर्दै आएका छन् । यसरी कोशीमा ह्यूमपाइप राख्दा जलपर्यटन गर्ने यात्रीहरु मारमा पर्दै आएका छन् । व्यवसायीले ह्यूमपाइपको माध्यमबाट कोश पारिको नदीजन्य पदार्थ चोरीनिकासी गर्दै आएका छन् ।

बीपी राजमार्गको किनार हुँदै बग्ने सुनकोशी नदीमा रामेछाप र सिन्धुली दुवै तर्फका क्रसर व्यवसायीहरुले कानुनविपरीत रातदिन ठूलाठूला डोजर चलाएर ढुङ्गा, बालुवा र गिट्टी निकाल्ने कामलाई तीव्रता दिँदै आएका हुन् । कोशीको वारिपारि दुवै जिल्लातर्फ कानुनविपरीत बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । कोशीमा ठूला डोजर लगाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि कानुनको उल्लंघन गर्दै स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा क्रसर व्यवसायीहरुले जथाभावी नदी दोहन गरिरहेको स्थानीय नागरिकको आरोप रहेको छ । 

‘नदी दोहन गर्ने काममा स्थानीय जनप्रतिनिधिकै संलग्नता छ’, एक स्थानीयले आफ्नो नाम नखुलाउने शर्तमा भने, ‘व्यवसायीको के कुरा ? नदी दोहनमा जनप्रतिनिधिहरुकै प्रत्यक्ष हात छ ।’ जनप्रतिनिधिहरुले नदी दोहन गरेरबवालुवा उत्खनन् गरेबापत ठूलो कमिसन लिने गरेको खुलासा पनि ती स्थानीयले गरे । 

बगिरहेको नदीको धार परिवर्तन गर्ने अधिकार कसैलाई छैन । नदीको धार परिवर्तन गर्नु भनेको कानुनविपरीत काम हो । कोशीको धार परिवर्तन गर्ने, नदी थुनेर ह्यूमपाइप राख्ने जस्ता कार्य गर्नेमाथि कडाभन्दा कडा कानुनअनुसारको कारबाही गरेर छाड्ने जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

आफूले यसबारेमा सम्बन्धित निकायलाई कारबाहीका लागि निर्देशन दिइसकेको बताउँदै प्रजिअ शर्मा भन्नुहुन्छ, ‘व्यवसायीहरुले सिन्धुलीतर्फ हुँदै बग्ने सुनकोशी नदीको धार परिवर्तन गरेर रातारात रामेछापतर्फ फर्काएर दोहन गर्ने काम भएको भन्ने जानकारी मैले पाएको छु । यस विषयमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गर्ने काम भइरहेकाले कानुनविपरीत काम गर्नेलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रियाअघि वढाइने र पहिला बगिरहेकै स्थानवाट नदी पुनः त्यस स्थानवाटै बग्ने गरी व्यवस्था मिलाउन स्थानीय निकायलाई निर्देशन दिएको छु ।’

नदी दोहनले खानेपानीको मूल नै सुक्यो 

भूकम्पले पहिले भएका खानेपानीको मुहान सुकेपछि कोशी किनारमा भूमिगत इनार निमार्ण गरी विद्युतीय माध्यममार्फत खानेपानी वितरण गरिँदै आइएको थियो । तर नदी किनारमा जथाभावी डोजर चलाउँदै पानीका मुहान सुकेको स्थानीयको गुनासो छ । व्यवसायीहरुले कोशी दोहन गरेर बालुवा, ढुङ्गा र गिट्टी निकाल्न प्रयोग गरेको डोजरले इनार भएको आसपासमा ठूलाठूला खाल्डा बनाउँदा पानीको मूल सुकेको हो ।

यसरी पानीको मूल सुकेपछि लाखौँ रुपैयाँ लगाएर निमार्णसम्पन्न गरेको रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमस्थित कोथवेमा खानेपानीको अभाव भएको खाँडादेवी गाउँपालिकाका वडा नम्बर १ का राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नियमविपरीत कोशीमा डोजर रातदिन चलाइएको छ । स्थानीय निकायले टेण्डर लगाउँदा स्थानीय नागरिकहरुलाई असर पर्छ कि पर्दैन् भन्ने वातवारणीय मुल्याकंन नै नगरी हचुवाको भरमा ठेक्का लगाउँदा हामी नागरिकहरुले सास्ती खेप्न बाध्य हुनुपर्यो ।’ 


    

अन्तिम अपडेट: चैत १६, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया