आन्ध्र प्रदेश स्टेट टिमलाई नेपाली युवा टिमले ६२ रनले हरायाे

 चैत ६, २०७५ बुधबार १७:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी यू–१९ विश्वकप छनोटका लागि अभ्यास खेल खेल्न भारत गएको नेपाली युवा टिम पहिलो खेलमा विजयी भएको छ । आन्ध्र प्रदेश स्टेट टिमलाई नेपाली युवा टिमले ६२ रनले पराजित गरेको हो ।

२७७ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४५.१ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाएको थियो । नेपालका कुशल मल्लले ४ तथा कमलसिंह ऐरीले ३  विकेट लिँदा पवन शर्राफले २ विकेट तथा सागर ढकालले एक विकेट हात पारे ।

दश ओभरको स्पेलमा कुशलले २ ओभर मेडन राख्दै ४१ रन खर्चिएका थिए । यसैगरी कमलसिंह ऐरीले ७.१ ओभरमा १ ओभर मेडन राख्दै ३९ रन दिएका थिए । 

भारतका लागि हर्षवर्द्धन र  हेमन्त रेड्डीले सुरुवाति साझेदारी ८५ रनको गर्दै बलियो सुरुआत दिलाएका थिए । हर्षवर्द्धन ४८ तथा रेड्डी ३८ रन बनाएर आउट भए ।यसैगरी पी तेजस्वीले ४३ रन बनाए ।  

पहिला ब्याटिङ गरेको नेपाल ४८ ओभरमा सबै विकेट गुमाएर २७६ रन बनाएको थियो ।

नेपालको खराब इनिङलाई कप्तान रोहित पौडेल र सन्दीप जोराले बलियो साझेदारी गर्दै उकासेका थिए । त्यसपछि कमलसिंह ऐरीले पनि उत्कृष्ट पारि खेले ।

नेपालका कप्तान रोहितले ७९ रन बनाउँदा सन्दीप ६९ रन बनाएर पेभेलियन फर्किएका थिए । कमलसिंह ऐरीले २५ बलमा ४४ रन बनाए । ४८ औं ओभरमा अन्तिम विकेटका रुपमा आउट भएका ऐरीले लगातार ५ छक्का प्रहार गरेका थिए । छैटौं बलमा उनी आउट भएसँगै नेपालको पारि २७६ रनमा रोकिएको थियो । 

नेपाली युवा टिम भारतको आन्ध्र प्रदेशको स्टेट टिमसँग ४ वटा अभ्यास खेल खेल्नका लागि त्यहाँ गएको हो ।

तस्बिर - रमण शिवाकाेटी

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया