बसपा प्रमुख मायावती आउँदो भारतीय लोकसभा चुनावमा नउठ्ने

 चैत ६, २०७५ बुधबार १८:३३:५१ | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभा चुनाव नजिक आउँदै गर्दा बहुजन समाज पार्टी(बसपा) की सुप्रिमो (प्रमुख) मायावतीले आउँदो चुनाव नलड्ने बताएकी छिन् ।

बुधबार लखनउमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मैले चाहे हरेक लोकसभाको चुनाव जित्न सक्छु । तर हाम्रो गठबन्धनको हितलाई मध्यनजर गर्दै म चुनावमा उठ्ने छैन । अगाडि आवश्यक परेको खण्डमा जुनसुकै सिटबाट पनि चुनावमा उठ्न सक्नेछु ।’

उनले पछि जुनसुकै सिट खाली गराएर भए पनि आफू संसद जान सक्ने पनि बताइन् । ‘म चुनावमा उठेँ भने मैले रोक्दारोक्दै पनि कार्यकर्ता मेरो सिटमा प्रचारका लागि जानेछन् । यसले बाँकी सिटमा पनि असर पर्छ । त्यसैले मैले चुनावमा नउठ्ने निर्णय गरेकी हूँ ।’

उत्तर प्रदेशमा रहेका ८० लोकसभा सिटमा बहुजन समाज पार्टी, समाजवादी पार्टी तथा आरएलडी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रँदैछन् । बसपा ३८, सपा ३७ र आरएलडी तीन सिटमा चुनाव लड्दैछन् । अमेठी र रायबरेली भने बिनागठबन्धन कांग्रेसलाई छोडिएको छ । 

 

गएको जनवरीमा बसपासँग गठबन्धनको घोषणा गर्दै सपाका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री अखिलेश यादवले बीजेपीको अहंकारको विनाशका लागि गठबन्धन जरुरी भएको बताएका थिए । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया