नाबालिका बलात्कारकाे आराेप पुष्टि भएपछि २५ वर्ष कैद फैसला

 चैत ६, २०७५ बुधबार १८:३७:७ | राजु लामिछाने

रुकुम पूर्व - नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ ।

साढे तीन वर्षीया नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका सिस्ने गाउँपालिका-५, का ३० वर्षीय मदन भनिने भरत गौतमलाई २५ वर्ष कैद फैसला गरिएको हो ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजालसले १९ वर्ष कसूरबापत र ६ वर्ष थप गरी २५ वर्ष कैद फैसला गरेको अदालतका श्रेष्तेदार सुशीलकुमार यादवले बताउनुभयो । 

नाबालिका बलात्कार गरेको कसूरमा १९ र दोहोर्‍याएर अपराध गरेका कारण थप ६ वर्ष गरी २५ वर्ष कैदको फैसला भएको यादवले जनाउनु भयो ।

मंगलबारको इजलासले पीडित बालिकालाई क्षतिपूर्तिवापत एक लाख रुपैयाँ पनि प्रतिवादी गौतमले तिर्नुपर्ने गरी फैसला गरेको छ । गौतमले यसअघि पनि त्यसै प्रकृतिको मुद्दामा दोषी करार भइ साढे ४ वर्षको कैद भुक्तान गरेका थिए ।

गौतम गएकाे माघ २१ गते नाबालिकालाई जबरजस्ती गर्ने क्रममा रंगेहात पक्राउ परेका थिए । घरमा कोही नभएको मौकामा नाबालिकालाई जबरजस्ती गर्ने क्रममा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । उनी कैद भुक्तान गरी कारागारबाट रिहा भएको एक महिनामै बालिका बलात्कारको अरोपमा पुनः पक्राउ परेका थिए ।

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया