एक जनाकाे ज्यान जाने गरी नख्खुमा बम विस्फाेट गराउने विप्लव समूहका चार जना पक्राउ

 चैत ६, २०७५ बुधबार १९:३०:२५ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुले एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाण्डाैको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिनुभयो । 

विक र राईलाई काठमाण्डाैबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको हो । काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा मङ्गलबार त्यही गाउँपालिका–२ काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिन खोज्दा त्यस समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड गोली फायर गरेको ढकालले बताउनुुभयो ।

घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको छ । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया