जनकपुरका मेयर साह बने ‘महामुर्ख’ !

 चैत ६, २०७५ बुधबार १९:५६:२६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रत्येक वर्ष झैँ यसवर्ष पनि होली पर्वका अवसरमा जनकपुरधाममा हास्यव्यङ्ग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन सम्पन्न भएको छ । यसवर्ष महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पाउनु भएको छ ।

मिथिला नाट्य कला परिषदको आयोजनामा बुधबार सम्पन्न महामुर्ख सम्मेलनमा उहाँलाई महामुर्खको उपाधि प्रदान गरेको हो । यस्तै नेकपाका प्रदेश २ सांसद रामचन्द्र मण्डललाई वैशाखनन्दन, प्रदेश सांसद प्रमेश्वर साहलाई डपौर शंख, नेपालकै कान्छो मेयर धनुषाका शहीद नगरपालिकाका मेयर उदय बरबरियालाई लोढा शंकर, साहित्यकार एवं कम्युनिष्ट नेता रोशन जनकपुरीलाई चपाटनन्दको उपाधि प्रदान गरिएको छ ।

यस्तै राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहलाई वंश कुढारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई मुसरीलाल, प्रध्यापक प्रमेश्वर कापरलाई हराशंख, नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई बज्रकीट,  बस व्यवसायी संघका नेता मनोज चौधरीलाई वोतलानन्द, व्यवसायी हिराभगतलाई खेसारीलाल, कवि पुनम झा मैथिलीलाई मनतोरिया र सम्झना वर्मालाई जिलेवियाको उपाधि परिषदले प्रदान गरेको हो ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा हास्यव्यङ्ग्य नाटक, गीतसंगीत कविता, जोगिरालगायत प्रस्तुत गरिएको थियो । प्रस्तुति हेर्न जानकी मन्दिर प्रांगणमा दर्शकहरुको घुइँचो लागेको थियो ।

प्रत्येक वर्ष तराईमा होलीको एक दिन अगाडि विभिन्न होरीको गीत संगीत, नाटक, कविता वाचनलगायत प्रदर्शन गर्ने गरिन्छ । यस सम्मेलनमा जनकपुर क्षेत्रकमा बुद्धिजीवीमध्येका एक जना विशिष्ट व्यक्तिलाई छनोट गरी व्यङ्ग्यस्वरुप महामुर्खको उपाधि दिने गरिन्छ । त्यस्तै अन्य बुद्धिजीवी प्रतिष्ठित व्यक्तिहरुलाई विभिन्न उपनाम दिँदै मुर्खको उपाधि प्रदान गर्ने गर्दछन् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया