पोखरामा बर्डफ्लू भेटिएपछि साविक धौलागिरी क्षेत्रमा कुखुरा आयातमा रोक

 चैत ६, २०७५ बुधबार २०:५२:२७ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पोखरालगायतका छिमेकी जिल्लाहरुमा बर्डफ्लू राेग देखिएपछि पर्वतलगायत बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा कुखुरा आयातमा रोक लगाइएको छ ।

केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहितका ४ जिल्लामा साविक धौलागिरीका ४ जिल्लामा कुखुरा आयतमा रोक लगाइएको हो । 

पोखरा– बागलुङ्ग सडकको धौलागिरी प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पंक्षीजन्य वस्तुहरु आयतमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक रामजीप्रसाद पौडेलले जानकारी दिनुभयो । कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ ।

डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुईवटा गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुस्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो ।

पौडेलका अनुसार पहिलो दिनमा सम्बन्धित ठाउँमा नै फिर्ता गराइएको र फेरि कुखुरा तथा मासु भित्र्याएको पाइएमा नष्ट गर्ने र कार्बाहीसमेत गर्ने कार्यक्रम रहेको छ।

स्थानीय व्यवसायी र स्वास्थ्यकर्मीकोसमेत उपस्थितिमा भित्रन लागेका कुखुराहरु कुनै पनि प्रमाणित कागजातबिना नै बिक्रीका लागि म्याग्दी र मुस्ताङ्गतर्फ लैजाँदै गरेको पाइएको थियो । 

कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पंक्षीजन्य उत्पादनहरु बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।  

 

अन्तिम अपडेट: चैत १, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया