प्रहरीले एकतर्फी गोली चलायो, सुरक्षा निकायमाथि गोली चलाउने पार्टीको नीति छैन : विप्लव समूह

 चैत ७, २०७५ बिहिबार १९:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले वर्तमान सरकार सामाजिक फासीवादतर्फ गैरहेको आरोप लगाएको छ ।

आफ्नो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने नाममा देशमाथि नै सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेकपाका मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आफ्ना पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सहित दर्जनौँ कार्यकर्ता पक्राउ परेको पनि विज्ञप्तिमा जनाइएको छ । 

साथै मंगलबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको काफलडाँडामा संगठन सुदृढीकरणका क्रममा रहेका बेला आफ्ना कार्यकर्ताहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको आरोप पनि नेकपाले लगाएको छ । 

सुदर्शनद्वारा सार्वजनिक विज्ञप्तिमा उनीहरुले प्रहरीमाथि गोली चलाएको भन्ने आरोप झुटो भएको पनि बताइएको छ । अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि गोली चलाउने पार्टीको नीति नरहेको पनि विज्ञप्तिमा उल्लेख छ । प्रहरीले एकतर्फी गोली चलाएर जवाफी कारबाही भनेर झुट फैलाएको पनि नेकपाले आरोप लगाएको छ । 

तर प्रहरीले भने माथि उल्लेखित नेकपाका कार्यकतालाई नख्खुलगायतका काठमाण्डौका विभिन्न ठाउँमा बम विस्फोट गराउँदै हिँडेकाले पक्राउ गरिएको बताएको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई मंगलबार काभ्रेबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुले एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी गएको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको पनि प्रहरीले जनाएको छ । साथै त्यसै समूहले गएको फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाण्डौको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोट गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिनुभयो । 

विक र राईलाई काठमाण्डौबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको हो । काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा मङ्गलबार त्यही गाउँपालिका–२ काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिन खोज्दा त्यस समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड गोली फायर गरेको ढकालले बताउनुुभयो ।घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरेको पनि प्रहरीले जनाएको छ । 

तर सुदर्शनद्वारा सार्वजनिक विज्ञप्तिमा भने नख्खुमा रहेको एनसेलको मुख्य कार्यालय अगाडि भएको बम विस्फोट र अन्य विस्फोटका बारेमा केही उल्लेख गरिएको छैन । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया