एउटा चराको मायाले कति, फरक पार्दछ क्यानडामा...

 असार १२, २०७५ मगलवार १७:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रत्येक वर्षको जुलाई महिनामा क्यानडेली नागरिक राजधानी ओटावा पुग्ने गर्छन ।

उनीहरु त्यहाँ देशकै सबैभन्दा ठूलो संगीत पर्व ‘ब्लूफेष्ट’ मनाउन सहभागी हुने गर्छन् । तर यो वर्ष त्यो पर्वको तयारी केही समयको लागि स्थगित भएको छ ।क्यानडेली  नागरिकका लागि विशेष पर्वझैँ रहेको यस सांगीतिक महोत्सव अहिलेलाई रोकिनुको कारण भने अनौठो छ ।

महोत्सव सुरु हुनुपूर्व नै एउटा विशेष पाहुनाको आयोजनास्थलमा उपस्थित भएकाले रोकिएको हो । महोत्सव आयोजना हुने ठाउँमा एउटा चराले गुँड बनाएपछि पर्व नै रोकिने अवस्थामा पुगेको हो ।

संगीत पर्वको लागि मञ्च तयारी गर्ने कामदारहरुले ‘किलडियर’ नामको एउटा चरा चार अण्डासहित ओथारो बसिरहेको देखेपछि पर्वको तयारी रोकिएको हो । त्यो चराको गुँडलाई क्यानडाको सरकारले सुरक्षा दिएको हो । त्यो गुँड संघीय अनुमतिबिना हटाउन नपाइने त्यहाँको संघीय सरकारले जनाएको छ । ‘म यो सबैभन्दा चुनौतीपूर्ण समस्या ठान्दछु, जुन भर्खरै देखा परेको छ’, ब्लुूफेष्टका निर्देशक मार्क मोनाहनले पत्रकारहरुलाई बताएका छन् ।

‘यदि कामदारहरुले मञ्च बनाउने काम केही फिट परसम्म पुर्‍याए भने चराले गुँड छोड्नसक्छ’,  कारलेटन विश्वविद्यालयका प्रकृतिविद् माइकल रन्जलाई उद्धृत गदै सीएनएनले उल्लेख गरेको छ ।

‘किलडियर’ प्रजातिको चराले कम्तीमा पनि बच्चा कोरल्न २४ देखि २८ दिसम्म लगाउनेछ र केही समयपछि चराले गुँड छोड्नेछ । तर त्यो पर्व जुलाई ५ बाट सुरु हुने तयारीमा रहेको छ । ब्लूफेष्टमा कम्तीमा पनि ३ लाखभन्दा बढी समर्थकहरु सहभागी हुने जनाइएको छ । संगीत पर्वको त्यो सहभागिताले चरालाई अवरोध हुनसक्ने आशंका गरिएको छ ।

कामदाहरुले चराको गुँड भएको ठाउँतिर जाने बाटो सावधान चिन्हका साथ बन्द गरेका छन् । कार्यक्रम आयोजकले त्यो गुँड र चराको रक्षा गर्न सुरक्षाकर्मी पनि खटाएको छ । आयोजकहरुले त्यो गुँडलाई सार्ने उपयुक्त धेरै ठाउँहरु पत्ता लगाएको र त्यहाँको सरकारले त्यस विषयमा चाँडै निर्णय दिने अपेक्षा गरेको बताएका छन् ।
 

अन्तिम अपडेट: भदौ १, २०७५

तपाईको प्रतिक्रिया