राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षक...
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ – भूकम्पपछिको निजी आवास अनुदानमा अहिलेसम्म एक खर्ब ७० अर्ब रुपैयाँ खर्च भएको छ ।
घर बनाउनेलाई अनुदानको तीन किस्तामा १ खर्ब ५९ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ, केही रेट्रोफिटिङ प्रभावित र जग्गा खरिदमा दिएको रकमसहित अहिलेसम्म आवास अनुदानमा १ खर्ब ७० अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
७ लाख ५१ हजार ७ सय ५८ लाभग्राहीलाई पहिलो किस्ता ५० हजारका दरले ३७ अर्ब, ५८ करोड, ७९ लाख रुपैयाँ वितरण भएको छ । त्यस्तै ५ लाख ५४ हजार ५ सय २६ जनालाई दोस्रो किस्तामा डेढ लाख गरी ८३ अर्ब, १७ करोड, ८९ लाख रुपैयाँ वितरण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
त्यसैगरी घर सम्पन्न गरी तेस्रो किस्ता बुझेका ३ लाख ८९ हजार ९ सय २१ जनालाई अन्तिम किस्ताको १ लाख गरी ३८ अर्ब, ९९ करोड २१ लाख रुपैयाँ वितरण भएको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले बताउनुभयो । चालु आर्थिक वर्षको ९ महिनामा निजी आवासका लागि ३४ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक बर्षमा आवास अनुदानका लागि ८५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि निजी आवासका लागि मात्रै झण्डै ५ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।
सरकारले भूकम्पबाट घर भत्किएका लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख गरी तीन लाख रुपैयाँ अनुदान दिने गरेको छ । घर चर्किएर रेट्रोफिटिङ गर्नुपर्ने लाभग्राहीले पहिलो किस्तामा ५० हजार र दोस्रोमा ५० हजार गरी एक लाख रुपैयाँ अनुदान पाउँछन् ।