कर्णालीमा क्षेत्रीय विमानस्थल बनाउने सरकारको घोषणा

 असार १२, २०७५ मगलवार १८:४६:२० | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गर्नु भएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले भौगोलिक कठिनाई भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो । 

मन्त्री अधिकारीले त्यस अवसरमा एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो । 

उहाँले ३ वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजना अनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले ३ वर्षभित्र सम्पदाहरुको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो । 

उहाँले सीमित स्रोत र साधनका कारण सोचे अनुसारको कामलाई अघि बढाउन नसकिएको उल्लेख गर्दै आगामी दिनमा सांसदहरुको माग अनुसारको योजना तथा कार्यक्रमलाई अघि बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: भदौ ६, २०७५

1 Comments

  • गोरख

    June 27, 2018, 6:50 a.m.

    कुरा होइन काम गरेर देखाउनुस मन्त्री ।बोल्ने बेलामा पूरा गर्न सक्छु कि सक्दिन भनेर सोचेर बोल्नुस अनि मात्र केही गर्न सकिन्छ/

तपाईको प्रतिक्रिया