६७ वर्षकाे उमेरमा नातिसँगै एसईई परीक्षा दिँदै युगमाया

 चैत १०, २०७५ आइतबार १७:१८:४३ | शिव ढुंगाना
unn.prixa.net

काठमाण्डाै – ओखलढुङ्गाकाे लिखु गाउँपालिका वडा नं.-६, की ६७ वर्षीया युगमाया कार्कीले एसईईको परीक्षा दिनुभएको छ ।

सांसद यज्ञराज सुनुवारले उहाँलाई खादा लगाएर परीक्षाकेन्द्रमा जान बिदाइ गर्नुभयो । आफूले राम्रो ग्रेड ल्याएर एसईई उत्तीर्ण गर्ने युगमायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, म सफल हुन्छु ।’ उहाँले काठमाण्डौको उत्प्रेरणा महिला मावि सुविधानगर काठमाण्डौबाट नियमित विद्यार्थीका रुपमा एसईई दिनुभएको हो । 

युगमायाका अन्तरे छोरा बुद्धिबहादुर कार्कीका छोरा रोहन भने काठमाण्डौकै जेनेभ एकेडेमीबाट एसईई दिँदै हुनुहुन्छ । हजुरआमा पनि एसईईमा सहभागी हुनुभएकोमा रोहनलाई थप उत्साह जागेको छ । यस कुराले आफू निकै खुसी भएको राेहनले बताउनुभयो ।  

युगमाया अहिले परीक्षाको तयारीका लागि कागेश्वरी मनहरा नगरपालिकामा अन्तरेछोरा बुद्धि कार्कीसँग बस्नुभएको छ । युगमायाका सात भाइ छोरा ५ जना नाति-नातिनी छन् ।  उहाँ २००८ सालमा लिुख गाउँपालिका ९ पोकलीमा जन्मिनुभएको हो ।

उहाँका कान्छा छोरा बेदबहादुर कार्की लिखु गाउँपालिका-६, गाम्नाङटारका वडाध्यक्ष र दाजु गोविन्द पौडेल लिखु गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । सानै उमेरमा विवाह गरेर पढाइ छुटेपछि बुढेस कालमा नातिसँगै पढ्ने रहर पलाएको कार्कीले बताउनुभयो ।

सांसद सुनुवारले बुढेस कालमा युगमायाको उत्साहले सबैलाई प्रेरणा दिने बताउँदै पूर्ण साक्षर घोषणा गरिएको ओखलढुंगालाई पूर्ण एसईई उत्तीर्ण जिल्ला बनाउने अभियानमा उहाँको एसईई कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया