एनपीआईको १० महिने पत्रकारिता तालिम प्रारम्भ, १० प्रशिक्षार्थी पत्रकारलाई छात्रवृत्ति

 चैत १०, २०७५ आइतबार १६:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रेस इन्स्टिच्युटले प्रत्येक वर्ष  प्रदान गर्दै आएको १० महिने पत्रकारिता तालिम आइतबारदेखि प्रारम्भ भएको छ ।

तालिमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्नुभयो । वि.सं. २०४२ सालदेखि यस्तो तालिम प्रदान गर्दै आएको यस इन्स्टिच्युटले यो ३५ औँ समूह भएको जनाएको छ ।

आधारभूत पत्रकारिताका लागि यस वर्ष नेपाल प्रेस काउन्सिलले १० प्रशिक्षार्थी पत्रकारलाई छात्रवृत्ति प्रदान गरेको छ । नेपाल प्रेस काउन्सिलले प्रदान गरेको छात्रवृत्तिसहित यस वर्ष तालिममा २० जना सहभागी हुनेछन् । 

काउन्सिलले सात प्रदेशबाट सहभागी हुन आएका प्रशिक्षार्थी पत्रकारको शुल्क मात्र भुक्तान नगरी काठमाण्डाैमा बस्न/खानका लागि रकम समेत उपलव्ध गराएको छ । काउन्सिलले छात्रवृत्ति प्रदान गरेका १० प्रशिक्षार्थी पत्रकारमध्ये सात जना सात प्रदेशबाट र तीन जना काउन्सिलको केन्द्रीय कार्यालयबाट रहनेछन् । 

सहभागीले पहिलो तीन महिनाको आधारभूत खण्ड र १० महिना लामो परीक्षण पूरा गरेपछि हुने परीक्षामा सामेल भएर हासिल गरेको स्तरअनुसार प्रमाणपत्र प्राप्त गर्नेछन् । 

१० महिने पत्रकारिता तालिममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले विगत लामो समयदेखि नियमित रुपमा सञ्चार शाखामा कार्यरत सुरक्षाकर्मीलाई समेत सहभागी गराउदै आएका छन् । हरेक वर्ष समूहमा सर्वाेत्कृष्ट हुने सहभागीलाई कान्तिपुर पब्लिकेसन्सले नगद पुरस्कारसहित प्रमाणपत्र पनि प्रदान गर्ने गरेको छ । 

पछिल्ला वर्षमा छापा, प्रसारण र अनलाइन न्यूज मिडियामा पत्रकारिताको प्रतिस्पर्धात्मक ढंगले विकास भइरहेको छ । सञ्चार गृहहरुले योग्य र व्यावसायिक पत्रकारको माग गर्दै इन्स्टिच्युटलाई जानकारी गराइरहेकाे भए पनि योग्य पत्रकार पठाउन नसकिरहेको र यस तालिममा सहभागी पत्रकारहरु वेरोजगार नरहेको तालिम संयोजक कपिल काफ्लेले बताउनु भयो ।

इन्स्टिच्युटबाट उत्पादित पत्रकारहरु अहिले विभिन्न सञ्चारमाध्यममा नेतृत्व तहसम्म पुगिसकेका छन् । तालिमको उद्घाटन गर्दे मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहने बताउनु भयो । उहाँले प्रेस इन्स्टिच्युटले आफ्नो भूमिका समय सापेक्ष बनाउन लागेको भन्दै प्रशंसा गर्नुभयो ।

नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष नीलकण्ठ उप्रेतीले प्रेस इन्स्टिच्युट सधैँ पत्रकारिता क्षेत्रको विकासका लागि लागीरहेको बताउनुभयो । उहाँले परिवर्तित सन्दर्भमा प्रेस इन्स्टिच्युटलाई नयाँ मार्ग प्रदान गरिने बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले दक्ष र व्यावसायिक पत्रकारको आवश्यकता पूर्तिका लागि दुई संस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै पहिलो पटक सञ्चार विकास कोष मार्फत पत्रकारहरुको आधारभूत तालिमका लागि प्रेस इन्स्टिच्युटलाई सहयोग गरेको बताउनु भयो । 

नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण हुमागाईँले नेपाल प्रेस इन्टिच्युटलाई सञ्चार क्षेत्रको विकासमा मात्र सिमित नगरी सञ्चार साक्षरता अभियानमा लगाउने बताउनुभयो । 

कार्यक्रममा तालिम संयोजक कपिल काफ्लेले १० महिने पत्रकारिता तालिमको स्वरुप र प्रक्रियाका विषयमा जानकारी गराउँदै नेपाल प्रेस इन्स्च्यिुट स्थापनाकाल देखि निरन्तर पत्रकारिता तालिममा संलग्न संस्था भएको र अहिलेसम्म केन्द र क्षेत्रीय स्रोत सञ्चार केन्द्रहरुबाट गरी करिब ८ हजार व्यक्तिलाई तालिम उपलब्ध राएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया