तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै काम सक्न निर्देशन

 चैत ११, २०७५ सोमबार १२:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिनुभएको छ । 

दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगरमा आयोजना निर्माणको स्थलगत अध्ययन पछि अन्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिनुभएको हो । राष्ट्रिय गौरवको आयोजनाले देशको  अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उहाँले सरोकारवालाहरुलाई सचेत गराउनुभयो ।

आयोजना निर्माणको क्रममा देखिने साना समस्या समाधानका लागि निर्माण कार्यसँग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उहाँले मासिक रुपमा कार्यसमीक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । स–सानामा समस्यामा अल्झेर सधै आयोजनाको समय थप गर्दे लैजानु उपयुक्त नहुने भन्दै उहाँले प्रतिबद्धता अनुसार काम पूरा गर्ने तर्फ सचेत बन्न पनि आग्रह गर्नुभयो ।

उहाँले आन्तरिक छलफलबाट निकास निस्कन नसकेका विषयलाई सरकारले सम्बोधन गर्ने भन्दै २०७६ मंसिरमा परीक्षण उत्पादन सुरु गर्ने गरी निर्माण कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई सरकारले सँधै सहयोग गर्ने भन्दै तीव्र गतिमा निर्माण कार्यमा लाग्न पनि उहाँले सचेत गराउनुभयो । 

अन्तरक्रियामा आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले रकम अभाव नै आयोजनाको मुख्य समस्या भएको भन्दै रकमान्तर गरेर भए पनि आयोजनालाई आवश्यक बजेटको व्यवस्था मिलाउन मन्त्री पुनसँग आग्रह गर्नुभयो ।

फागुनमसान्त सम्ममा आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पूरा भएको छ । ४ सय ५६ मेगावाट क्षमताको देशकै ठूलो जलविद्युत् आयोजनामा भारतीय, चिनियाँ, यूरोपेली विज्ञहरु र कामदार तथा ठेकेदारहरु संलग्न छन् । आयोजना निर्माणको समय लम्बिँदै जादा नेपाली मुद्राको अवमूल्यन, मूल्यबृद्धिलगायत कारणले यसको लागत पनि बढ्दै गएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया