आजदेखि काठमाण्डौको सडकमा महानगरपालिकाका पाँच ब्रुमर सञ्चालन

 चैत १२, २०७५ मंगलबार १३:५९:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक विभागको सहकार्यमा मंगलबारबाट काठमाण्डौको सडकमा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको छ । काठमाण्डौको सभागृहमा औपचारिक कार्यक्रम गरेर ब्रुमर रत्नपार्कमा प्रयोग गरिएकाे महानगरपालिकाले जनाएको छ । 

काठमाण्डौका नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै महानगरपालिकाले एक साता अघिमात्र झण्डै ११ करोडको लागतमा इटालीबाट ५ वटा ब्रुमर भित्र्याएको थियो । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सभागृहबाट ब्रुमरको उद्घाटन गर्नुभएकाे थियाे । 

‘यी ५ ब्रुमरले मुख्यतः टेकुलाई केन्द्र बनाएर चक्रपथभित्र सरसफाइको काम गर्नेछन्,’ सूचना अधिकारी आचार्यले भन्नुभयो । ब्रुमरले कलंकी, बल्खु, कालीमाटी, टेकु, सुन्धारा, लैनचौर, दरबारमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर, भद्रकालीलगायतका सडकको धुलो सफा गर्नेछ । यसका लागि ५ वटा रुट तोकिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले भित्र्याएका पाँच ब्रुमरमध्ये चारवटा ब्रुमर १६ टन क्षमता र एउटा ब्रुमर ६ टन क्षमता बराबरको रहेको छ । ती ब्रुमरहरुले दिनमा १० किलोमिटरसम्मको धुलो संकलन गर्नेछन् । यसअघिका पुराना २ वटा ब्रुमर बिग्रिएपछि महानगरले इटालियन कम्पनीका ५ वटा ब्रुमर भित्र्याएको हो ।  
 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया