आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ‘कालाबाङ घरेडी’ होमस्टे

 चैत १३, २०७५ बुधबार १२:१४:२ | सुमन गुरुङ
unn.prixa.net

पोखरा – पर्यटकीय नगरी पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक आजभोलि लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधा सम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटकहरु गाँउसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँंग रमाउन थालिसकेका छन् । यो क्रमलाई ध्यानमा राखेर पोखरा र आसपासको डाँडातिरका गाँउमा होम स्टे ‘ग्रामीण घरबास’ कार्यक्रम सुरु गरिएका छन् । ती मध्ये एक हो, नेपथ्य व्याण्डका गायक अमृत गुरुङको गाउँमा सञ्चालित कालाबाङ घरेडी होम स्टे । 

होम स्टे भन्ने बित्तिकै अर्गानिक खानाको कुरा आइहाल्छ । यहाँको अर्को विशेषता भनेको समावेशिता हो । पोखरा महानगरपालिका वडा नम्बर २२ मा रहेको कालाबाङ घरेडी होमस्टे अहिले १८ घरबाट होम स्टे सञ्चालनमा रहेको छ भने २ वटा घर पनि समावेश हुने प्रक्रियामा छ ।

११ घर गुरुङ, ६ घर ब्राह्मण र १ एक दलितको घरबाट होमस्टे सञ्चालनमा रहेको छ । थपिने प्रक्रियामा दुई घर गुरुङको रहेको छ । वि. सं. २०७१ सालमा एसिएन फोरमको सहयोगमा सञ्चालनमा आएको होम स्टे गएको वर्ष मात्र स्थानीयलाई हस्तान्तरण गरेपछि स्थानीयले नै व्यवस्थापन गर्दै आएका छन् ।

न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होम स्टेले आकर्षित गरेको हो । आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा परेपछि चहलपहल बढेको हो । होम स्टे सञ्चालनसँगै कालाबाङ घरेडी गाउँ समृद्धितर्फ लम्किँदै छ । पर्यटक आउने क्रमसँगै स्थानीय विभिन्न आयआर्जनका काममा व्यस्त हुन थालेपछि गाउँको मुहार फेरिँदै गएको छ । होमस्टे सञ्चालनमा आएपछि आर्थिक गतिविधि पनि बढ्दै गएको कालाबाङ घरेडी होम स्टेका बजार व्यवस्थापन संयोजक रवीन्द्र गुरुङ बताउनुहुन्छ ।

होम स्टेबाट अहिले राम्रो आम्दानी पनि भएको छ । ‘होमस्टे सञ्चालनमा आएपछि गाँउको चिनारी त फेरिएकै छ, स्थानीयले गाँउघरमै बसेर राम्रो कमाई पनि गरेका छन्’ उहाँले भन्नुभयो । २० घरमा अहिले ७० जनासम्म राख्न सक्ने क्षमता छ । कम्तिमा २५ हजार र बढिमा ८० हजारसम्म महिनाको कमाइ हुने बजार व्यवस्थापन संयोजक गुरुङले बताउनुभयो ।

पहिले गाउँबाट बसाइँसराईको क्रम चलिरहेको बेलामा होमस्टे सुरु भइसकेपछि बसाइँसराईको क्रम पनि रोकिएको होम स्टे सञ्चालक समितिका पूर्वसचिव यामबहादुर गुरुङले बताउनुभयो । ‘होमस्टे सुरु भइसकेपछि पहिला बजार झरेकाहरु पनि फर्किएर होम स्टेमै लागेका छन्’ उहाँले भन्नुभयो  । गाउँका जग्गा बाँझो हुने क्रम बढेको भए पनि होम स्टेले गर्दा मानिसहरु तरकारी र फलफूल खेती, बाख्रा र कुखुरापालन जस्ता काममा लागेका छन् । ‘आजभोलि गाँउमा उत्पादन भएको कृषि उपज बिक्री हुँदैन कि ? भन्ने समस्या पनि छैन’ उहाँको भनाइ छ । 

हरेक होम स्टेमा जस्तै कालाबाङ घरेडी होम स्टेमा पनि आफ्नै खालको स्वागत गर्ने चलन छ । यहाँ पुग्ने पाहुनालाई सगुनको रूपमा इच्छा हुनेलाई स्थानीय रक्सी ‘नारे पा’ पनि दिइन्छ । पाहुनाले अनुरोध गरेमा खैजडी, भजन, झ्याउरे गीत र विद्यार्थीले पनि नृत्य देखाउँछन् । यो न्यानो आतिथ्यतामा पाहुना पनि छमछमी कम्मर भाँच्न सुरु गर्छन् । बस्ती माथिको चक्र हाल्ने डाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, पोखरा बजार, फेवातालको दृश्यावलोकन गर्न सकिनु यहाँका विषेशता हुन् ।

अर्गानिक खानाको स्वाद, बाह्रै महिना स्थानीय रहनसहन र संस्कृतिसँग रमाउन पाउनु, सूर्योदय र सूर्यास्तको अवलोकन गर्दा पाहुनाको मन प्रफुल्लित हुन्छ । यहाँका अर्गानिक कफीले जो कोहीको पनि मन तानिहाल्छ । यही कारण कालाबाङ घरेडी होमस्टेमा पनि पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटक, संघ संस्थाका कर्मचारी, विद्यार्थी समूह बनाएर होम स्टे पुग्ने गरेका छन् ।

कसरी पुग्ने कालाबाङ घरेडी होमस्टे, खर्च कति लाग्छ ?

पोखराबाट १२ किलोमिटरको दूरीमा रहेको यो गाँउ पुग्न बाह्रैमास बस चल्छन् । त्यसको अलवा आफ्नै निजी सवारी साधनको सहारा लिएर पनि पुग्न सकिन्छ । पोखराबाट सिद्धार्थ राजमार्गको स्याङ्जा जाने सडक हुँदै गएपछि तिलहारमा ओर्लने र त्यसपछि राजमार्ग छाडेर २.५ किमि दूरीको कच्चीबाटो उकालो चढेपछि यो गाँउमा पुगिन्छ ।

यहाँ पुगिसकेपछि गाँउलेको आतिथ्यता पाइन्छ, त्यस्तै धेरै रकम पनि लाग्दैन । ९ सय रुपैँयामा पुगिहालिन्छ । त्यसमा स्वागत खाजा, बेलुकाको ननभेज खाजा, १ गिलास अर्गानिक ‘नारे पा’ र बिहानको खाजा समेटिएका छन् । यदी बिहानको खाना पनि खाएर आउनुहुन्छ भने २ सय ५० थपेर ११ सय ५० मा तपाई कालाबाङ पुगेर आउनु सकिन्छ । यो बाहेक अन्य परिकारको लागि भने अतिरिक्त रकम तिर्नुपर्छ ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया