दुई महिनामै साढे २२ लाखको दूध निर्यात भएपछि किसान खुशी

 चैत १३, २०७५ बुधबार १६:१०:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जिल्लामा सञ्चालित नागरिक दुग्ध सहकारी संस्थाले दुई महिनामै साढे २२ लाखको दूध जिल्लाबाहिर निर्यात गरेको छ । गएको माघमा सञ्चालनमा आएको सहकारी संस्थाले दूध बिक्रीबाट २२ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको हो । 

नागरिक दुग्ध सहकारीका अनुसार, ३-३ दिनको फरकमा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको दूध नेपालगञ्ज पठाइन्छ । सहकारीका अध्यक्ष धिरन सिर्पालीले दुई महिनाको अवधिमा यहाँबाट साढे २९ हजार लिटर दूध नेपालगञ्ज पठाइएको बताउनुभयो । जिल्लाका विभिन्न १४ स्थानमा संकलन केन्द्र स्थापना गरेर किसानले उत्पादन गरेको दूध बिक्री वितरण गर्ने गरेको अध्यक्ष सिर्पालीको भनाइ छ । माघ र फागुन महिनामा सहकारीले झण्डै ४१ हजार लिटर दूध संकलन गरेको भए पनि जिल्लामा खपत भएर बचेको २९ हजार २ सय लिटर जिल्लाबाहिर निर्यात गरेको उहाँले बताउनुभयो । 

गाउँमा किसानले उत्पादन गरेको दूध नियमित रुपमा बिक्री हुन थालेपछि किसानहरु पनि खुशी भएका छन् । दूध बेच्नको लागि कुनै समस्या नभएको सानीभेरी गाउँपालिका ११ का रामबहादुर खड्काले बताउनुभयो । पहिले गाउँमा दूध उत्पादन हुने भए पनि बजारको समस्याका कारण बिक्री नहुने गरेको समस्या अहिले नरहेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको दूधलाई सहकारीले प्रतिलिटर ४२ रुपैयाँमा खरिद गर्दै आएको छ । किसानले हरेक महिनाको अन्तिममा दूधको मूल्य पाउने गरेका छन् ।

सहकारीले यहाँको दूधलाई सहज रुपमा जिल्लाबाहिर निर्यात गर्नको लागि र गाउँगाउँबाट सहकारीमा दूध जम्मा गर्नको लागि तीनवटा गाडीको व्यवस्था गरेको छ । दुई वटा गाडीले गाउँमा उत्पादन गरेको दूधलाई संकलन गर्ने र एउटा चिलिङ् भ्यानले नेपालगन्जमा लैजाने गरेको सहकारीका अध्यक्ष सिर्पालीको भनाइ छ । 

गाउँमा स्थापना भएका संकलन केन्द्रमा हरेक दिन किसाले दूध ल्याउने र त्यहाँबाट सहकारीको गाडीले सहकारीमा जम्मा गर्दै आएको छ । दैनिक ३ सय ३० जना किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुने गरेको सहकारीले जनाएको छ । त्रिवेणी गाउँपालिकाबाट ६ सय लिटर, सानीभेरी गाउँपालिकाबाट ४ सय ५० लिटर र मुसिकोट नगरपालिकाबाट २ सय लिटर गरेर दैनिक एक हजार २ सय ५० लिटर दूध संकलन हुँदै आएको सहकारीको तथ्याङ्क रहेको छ । 

१ करोड ३० लाख लगानीमा दुग्ध सहकारी स्थापना गरिएको सहकारीका सचिव छविलाल केसीले बताउनुभयो । सहकारीमा कर्णालीप्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ७९ लाख आर्थिक सहयोग छ भने अन्य सबै लगानी शेयर सदस्यको रहेको छ । सचिव केसीका अनुसार, जिल्लामा पहिलो पटक दुग्ध चिस्यान केन्द्रको स्थापना गरेर यहाँ उत्पादन भएको दूधलाई प्रदेश ५ को नेपालगञ्ज पठाउने गरिएको भएता पनि आगामी दिनमा दाङ, लमहीलगायतका शहरमा पठाउने सहकारीको तयारी छ । 

अहिले जिल्लाबाट एक पटक ४ हजार लिटर दूध जिल्लाबाहिर निर्यात हुने गरेको छ । सहकारीले गत माघ ४ गते जिल्लाका किसानले उत्पादन गरेको दूध पहिलो पटक नेपालगञ्ज पुर्‍याएको थियो । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया