गाउँसभाको निर्णय : मृत्युपछिको संस्कार खर्च ५ हजार, श्रमिकको न्यूनतम ज्याला ९ हजार

 असार १३, २०७५ बुधबार ११:२१:३३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – सुनकोसी गाउँपालिकाले मृत्युपछि गरिने संस्कार खर्च हरेक मृतक परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा तामाङले पेश गरेको बजेट गाउँसभाबाट स्वीकृत गरेको हो ।

गाउँ सभाबाट पारित निर्णयमा मृत्युपछि हरेक मृतकका परिवारलाई संस्कार खर्चवापत पाँच हजार नगद उपलब्ध गराइने उल्लेख छ । संस्कार, संस्कृति सकारात्मक पक्षलाई जोगाउन र अािर्थक स्तर कमजोर भएका व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले गाउँपालिकाभित्र काममा लगाइने मजदुरको न्यूनतम ज्याला समेत तोकेको छ  । गाउँ सभाले दैनिक ज्यालादारमिा तीन सय रुपैंयाभन्दा कम र मासिक रुपमा नौ हजारभन्दा कम रकम दिएर ज्यालादारीमा काम लगाउन नपाइने नीति ल्याएको हो । मजदुरको श्रम शोषण गर्ने गरेको पाइएपछि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।  ‘विद्यालयमा समेत मासिक दुई हजारसम्म ज्याला दिएर शिक्षक राखेको पाइएपछि न्यूनतम ज्याला तोकिएको हो’ अधिकारीले भन्नुभयो ।

त्यस्तै, गाउँपालिकाले बच्चा जन्मेपछि स्याहार खर्च एक हजार दिने निर्णय गरेको छ । बच्चाको स्याहार गरेर बच्चा राख्न प्रोत्साहन गर्ने उद्देश्यले बच्चा जन्मेर जन्म दर्ता गरेपछि एक हजार दिइने नीति ल्याइएको प्रम्ख प्रशासकीय अधिकृत मदन बजगाइले बताउनुभयो । बजगाईँले भन्नुभयो– ‘व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन पनि बच्चा जन्मेपछिको स्याहार खर्च र मरेपछिको संस्कार खर्चले प्रोत्साहन गर्नेछ ।’ गाउँपालिकाले विद्यालयमा हरेक महिना विद्यार्थी स्वास्थ्य परिक्षण गर्ने लगायतका नीति तय गरेको छ ।

गाउँसभाबाट स्वास्थ्य, पूर्वाधार विकास, विद्युतीकरण, कृषिलगायतका क्षेत्रलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । वित्तिय समानीकरण तर्फ ७ करोड २३ लाख, सशर्त अनुदान १४ करोड ४५ लाख तथा राजश्व बाँडफाडबाट प्राप्त हुने ५ करोड ६४ लाख, चालु आवबाट खर्च हुँन बाँकी रकम १ करोड ५० लाख,  प्रदेश सरकारको १ करोड ३३ लाख र आन्तरिक आय २० लाख गरि कुल २८ करोड ६६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटबारे विभिन्न समिति र कार्यपालिकाको बैठकमा छलफल चलिरहेको गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया