हतियार मर्मत गर्ने पसलबाट मर्मतमा प्रयाेग हुने ‘अवैध’ सामान बरामद

 चैत १५, २०७५ शुक्रबार १४:२४:२८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - प्रहरीले नेपालगञ्जको डिएसपीरोडमा रहेको हतियार मर्मत गर्ने एउटा पसलमा छापा मारेर हतियार बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको छ ।

नेपाल प्रहरीको प्रदेश नम्बर ५ अनुसन्धान समूह र वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले शुक्रबार नेपालगञ्ज-५, डिएसपीरोडका ६० वर्षीय जङ्गवीर नेपालीले सञ्चालन गरिरहेको हतियार मर्मत गर्ने पसलमा छापा मारेको हो ।

हतियार मर्मतको अनुमति लिएको भए पनि नेपालीको हतियार मर्मत गर्ने तरिका र भण्डारण वैध नदेखिएका कारण हतियार निर्माणका सामानसहित उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डांगीले जानकारी दिनुभयो ।

प्रहरीले जंगबहादुरको साथबाट हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा एक थान नयाँ सहित ७ थान, हतियारमा नम्बर राख्न प्रयोग हुने साँचो २६ थान, सानो एयर गन पेस्तोल १ थान, लामो स्प्रिंग ३ थान, हतियार बनाउन प्रयोग हुने बाकस, आरन लगायतका सामाग्री बरामद गरेको छ ।

यसैगरी हतियारमा प्रयोग हुने साँचाे समेत बरामद भएको छ । जंगवीरले पुस्तैनीदेखि नै हतियार मर्मतको कार्य गर्दै आएको पाइएको पनि प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया