पत्रकार महासंघ पाल्पाका अध्यक्ष अर्याल र सदस्य बौडेलमाथि हातपात

 चैत १५, २०७५ शुक्रबार १९:३:५३ | देव पचभैया
unn.prixa.net

नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्याल, सदस्य विजय बौडेलमाथि हातपात गर्ने दोषीमाथि कारबाहीको मागसहित ज्ञापनपत्र बुझाउँदै संघका जिल्ला उपाध्यक्ष भरत शर्मा

पाल्पा – पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य विजय बौडेलमाथि हातपात भएको छ । 

तानसेन नगरपालिकामा धर्नामा रहेका आन्दोलनकर्मीले पत्रकारमाथि हातपात गरेका हुन् । शाखाका सदस्य विजय बौडेलमाथि हातपात गरेको सूचना पाएपछि तानसेन नगरपालिका क्षेत्रमा पुगेका अध्यक्ष अर्यालमाथि आक्रमण गरी कुटपिट भएको हो । 

तानसेन नगरपालिकाले गएको फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णयको विरुद्ध घरधनीहरुले  नगरपालिका कार्यालयमा धर्ना दिने क्रममा पत्रकार कुटिएका हुन् । पत्रकारमाथि दुर्व्यवहार गरेको सूचनाका आधारमा घटनास्थलमा पुगेका बेला आन्दोलनकर्मीले आफूमाथि हातपात गरेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । 

पत्रकारमाथि हातपात भएकोमा पत्रकार महासंघ, पाल्पा शाखाले आपत्ति जनाएको छ । 

शाखाका उपाध्यक्ष भरत शर्मा र सचिव किरण कौशलद्वारा जारी विज्ञप्तिमा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको हातपात र ज्यान मार्ने प्रयासको  घटनाप्रति घोर भर्त्सना गरिएको छ ।  सूचना संकलन तथा प्रकाशन प्रसारण निर्वाध रुपमा गर्न पाउने प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै विज्ञप्तिमार्फत घटनाको निन्दा गरिएको छ । 

तानसेन नगरपालिका परिषदमा पत्रकारमाथि हातपात हुनु राम्रो नभएको तानसेन नगरपालिका मेयर अशोककुमार शाहीले बताउनुभयो ।  पत्रकार कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्दे दोषीलाई कारबाही हुनुपर्नेमा उहाँको जोड थियो । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले पत्रकारमाथि हातपात गर्नेमाथि कारबाही हुनपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कडा कारबाहीको माग गर्दे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाले पत्रकारमाथि भएको हातपातको घटना दोषीहरुमाथि कारबाही हुने बताउनुभयो । 

पत्रकार कुटपिटको आरोपमा व्यापारीका नेतासहित ३ जना पक्राउ 

पत्रकारमाथि कुटपिट गरेको आरोपमा तानसेनका बावुराम विष्ट, शैलेन्द्र भट्टराई ,र लक्ष्मण रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बाबुराम बिष्ट फेन्सी पसल सञ्चालक,  शैलेन्द्र भट्राई पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष र  लक्ष्मण रेग्मी रक्सी पसल सञ्चालक हुन् । पत्रकार कुटपिटको घटनाप्रति आपत्ति जनाउँदै विभिन्न संघ सस्थाहरुले पनि दोषीलाई कारबाहीको माग गरेका छन् । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया