न्याय माग्दै श्रीमती पीडित प्रहरीमा

 असार १३, २०७५ बुधबार १५:२९:२२ | सन्तोष थापा
unn.prixa.net

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा २ जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् ।

प्रहरीमा महिला तथा बालबालिका सम्बन्धित घटनाहरु हेर्ने गरी खडा गरिएको केन्द्रमा जलजला गाउँपालिका–२, धाइरिङका रेशम परियार र कुश्मा नगरपालिका–१, पाङका प्रकाश चँदराले श्रीमतीबाट पीडित भएको भन्दै उजुरी दिएका हुन् । 

उनीहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालन पोषणमा ध्यान नदिएको र घरभन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएको प्रहरीले जनाएको छ । 

उजुरी उपर जिल्ला प्रहरी कार्यालय पर्वतले चँदराका श्रीमान् श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने परियारको मुद्धा अझै कानुनी प्रक्रियामा रहेको छ । 

यस्तै सेवा केन्द्रमा आर्थिक वर्ष २०७४।७५ मा जेठ महिनासम्म ५९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता भएका छन् । त्यो उजुरीमध्ये प्रहरीले आफै ४१ वटा उजुरी मिलापत्र गराएको छ भने ७ वटा उजुरीमा मिलापत्र गराउन नसकेपछि अदालतमा पठाएको छ ।

त्यस्तै ८ वटा उजुरी कानुनी प्रक्रियामा रहेका छन् भने ३ वटा उजुरी दिएका व्यक्तिहरु सम्पर्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया