गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले नै चलाउने, अन्य विकल्प पनि खुला

 चैत १७, २०७५ आइतबार १७:५१:२७ | अर्जुन पोख्रेल
unn.prixa.net

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उडड्यन प्राधिकरण क्यानले नै चलाउने भएको छ ।

विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि कसले चलाउने भन्ने कुराको टुंगो नलागेको भन्दै अन्योला भैरहेका बेला नागरिक उडड्यन प्राधिकरणले भने आफैं चलाउने बताएको हो । 

‘हामीले सन् २०१९ भित्रै विमानस्थल चलाउने भनेका छौं, अहिलेसम्म मोडल पनि टुंगो लागेको छैन, मोडल टुंग्याएर विदेशी कम्पनीलाई बोलाएमा धेरै समय लाग्न सक्छ, त्यसैले सुरुमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हामीले नै चलाउने तयारी गरेका छौं’ नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो । 

‘अहिले सबै प्रक्रिया हेर्दा यसै वर्ष नै विदेशी आएर चलाउन सक्ने सम्भावना देखिँदैन, त्यसैले अहिले हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जसरी चलाएका छौं, त्यसरी नै भैरहवा पनि चलाउने तयारी छ’ महानिर्देशक गौतमले थप्नुभयो । 

अर्थ मन्त्रालयले विदेशको प्रतिष्ठित र अनुभवी कम्पनीसँग जीटूजी (सरकारी–सरकारी) अथवा पीपीपी (सार्वजनिक निजी साझेदारी) जुन मोडलमा भए पनि सम्झौता गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत क्यानलाई पत्राचार गरेको थियो । 

अर्थ मन्त्रालयले भनेअनुसारको प्रस्ताव तयार पारेर क्यानले सैद्धान्तिक स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाएको छ । क्यानको फाइल निर्णयको पर्खाईमै छ । 
‘विमानस्थल सञ्चालन र व्यवस्थापनको लागि विदेशी कम्पनीसँग सम्झौता गर्न सकिने कुरा समेटेर मन्त्रीपरिषद्लाई पठाएको प्रस्ताव पर्खाइमै छ, तर यो प्रक्रिया लामो हुने भएकोले हामीले नै विमानस्थल चलाउने तयारी गरिरहेका हौं ।’ उहाँले भन्नुभयो 

काम अन्तिम चरणमा, केही दिनमै उपकरण आयात सुरु हुने

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावरलगायतका संरचनाको काम तीव्र गतिमा भैरहेको छ ।     तीन किलोमिटर लामो धावनमार्गको तीन तहको काम सकिएर चौथो तहको काम सुरु भइसकेको छ । अबको ३० दिनमा धावमार्ग, ट्याक्सी वे र पार्किङ वे को काम सकिने आयोजनाले जनाएको छ । 

‘उडान तथा अवतरणमा प्रयोग हुने विभिन्न उपकरणको टेन्डरको काम सकिएको छ, अब केहि दिनमा उहाँहरुले सामान आयात सुरु हुनेछ’ नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘२०१९ भित्र नै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी काम भैरहेको छ ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया