नारायणगढ–मुग्लिन सडकखण्ड :  दाममा कुरा नमिल्दा घण्टौं जाम !

 असार १३, २०७५ बुधबार १७:३७:४४ | राधेश्याम खतिवडा

चितवन – लगातार तीनदिन मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा २५ घण्टासम्म सडक अवरुद्ध भयो  । 

पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन सोमबार  ९ घण्टा, मंगलबार ११ घण्टा र बुधबार ५ घण्टा लाग्यो । यसअघि सडकमा पहिरो खस्दा उतिखेरै पन्छाउने काम हुन्थ्यो । तर यसपटक सडक आयोजना र निर्माण कम्पनीबीचको समन्वय अभाव र  रकम विवादले पहिरो हटाउन ढिलाई भएको हो ।  

समन्वयको अभावले ढिला हुन्छ काम 

मंगलबार  बिहान ५ वजे खसेको पहिरो साढे तीन घण्टापछि मात्र पन्छाउन थालिएको थियो ।  दुई घण्टासम्म एउटा एक्साभेटरले एकापट्टिबाट मात्र पहिरो हटाउन थाल्यो  । 

आयोजनाले दबाब दिएपछि  थप एक एक्स्काभेटर र एक लोडर प्रयोग गरेर पहिरो हटाइएको थियो । पहिरो पन्छाउन ११ घण्टा लाग्योे । सडकखण्डमा पहिरो खसेपछि पन्छाउन ध्यान दिनुपर्ने निकायबीच नै समन्वयको अभाव छ । विगतमा पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदार कम्पनीले पहिरो पन्छाउन ढिलाई गर्ने गरेका छन् । विगतमा पहिरो हटाए बापतको ३ करोड भन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको निर्माण कम्पनीको दावी छ । 

मंगलबार बिहान सडकखण्डको चारकिलो तोपेखोलामा आएको पहिरो पन्छाउन ढिलाई भएको थियो । नारायणगढ–मुग्लिन सडक खण्डको ठेक्का लिएको सुप्रिम रौताहा जेभीले यसअघिका पहिरो पन्छाएको तीन करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम नपाएको दावी गरेको छ । 

विगतमा पहिरो हटाएको रकम नपाएको भन्दै निर्माण कम्पनीले पहिरो पन्छाउन ढिलाई गरेको आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । ‘अर्ब रुपैयाँको ठेक्का लिएर काम गर्ने केही भुक्तानी ढिला भयो भनेर काम रोक्न मिल्दैन’, बिसुरालले भन्नुभयो ‘भुक्तानी रोकियो भनेर काम रोक्न मिल्दैन ।’ 

सडक निर्माणको काम सुरु भएदेखि पहिरो हटाएको रकम मात्र  तीन करोड ५० लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको सुप्रिम रौताहा जेभीका प्रतिनिधि शिशिर कन्दङ्वाको दावी छ । ६ लाख रुपैयाँ भुक्तानी पाए पनि बाँकी रकम नपाएको उहाँले बताउनुभएको छ । 

३२ स्थानमा पहिरोको जोखिम 

सडक निर्माणको क्रममा १२ स्थानमा ठूलो पहाड काटिएको छ । गाईघाटदेखि घुमाउनेसम्म ५ किलोमिटर र जलबिरेदेखि खहरे खोलासम्म ७ किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिममा रहेको आयोजनाका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालले बताउनुभयोे । 

३३ दशमलब २ किलोमिटर दूरी रहेको सडकखण्डमा हरेक किलोमिटरमा पहिरोको जोखिम छ । पहिरो नियन्त्रण गर्न नारायणगढ मुग्लिन सडक अयोजनाले काम गरिरहेको छ । ३२ स्थानमा पहिरो नियन्त्रणको लागि काम गरिएकोमा ८० प्रतिशत काम सकिएको खनालले बताउनुभयो ।

बर्खाको समयमा पहिरो नझर्ने गरी दुईवटा निर्माण कम्पनीले सडकखण्डलाई दुई भागमा विभाजन गरी काम भैरहेको छ । दासढुङ्गादेखि चोर खोलासम्म न्यू टेक्निकल हाई हिमालयन जेभी र चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालय हिमसगरमाथा जेभीले काम गरिरहेको छ । १४ करोडको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको छ । 

सडक क्षेत्रमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम छ । 

आयोजनाका इन्जिनियर खनालले सबै क्षेत्रमा पहिरो नियन्त्रण गर्नका लागि नयाँ प्रविधिका साथ काम भएको जानकारी दिनुभयो ।

दुई स्थानमा पहिरो नियन्त्रणको काम हुन सकेन 

पहिरोको जोखिम रहेको  ३२ स्थानमध्ये चारकिलो र भालुढुङ्गा क्षेत्र उच्च जोखिममा रहेको छ । 

सडक विभागमार्फत आयोजनाका लागि खटिएका भू–प्रविधि परामर्शदाता टुकलाल अधिकारीले चारकिलो र भालुढुङ्गा क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्न वर्षात अगाडि सम्भव नदेखिएको बताउनुभयो । 

तयार भएको डिजाइन र प्रयोग गरिएको प्रविधिले दुई क्षेत्रमा वर्षातअघि काम गर्न कठिन  भएको बताउँदै उहाँले भौगोलिक बनावट जोखिम रहेकाले काम गर्न कठिन भएकाले वर्षात अगाडि पहिरोको नियन्त्रणको काम नहुने जानकारी दिनुभयो । गेग्रानसहितको अग्लो भिरालो पहाडमा काम गर्न कामदारहरुका लागि समेत जोखिम रहेकाले काम गर्न नसकिएको उहाँले बताउनुभयो । 

वर्षातको समयमा यात्रा गर्ने क्रममा चारकिलो र भालुढुङ्गा क्षेत्रमा पहिरोको अवस्था हेरेर मात्र यात्रा गर्नुको विकल्प नभएको बताउँदै उहाँले दुई क्षेत्रमा नयाँ डिजाइन र नयाँ प्रविधि प्रयोग गरेर काम गर्नुपर्ने बताउनुभयो । 

अग्ला पहाडको फेद र त्रिशूली नदीको किनारमा रहेको सडकखण्ड वर्षाको समयमा पहिरोको जोखिम छ ।  सडक विस्तार एवम् निर्माणका काम त सकियो, तर पहिरोको जोखिम हटेको छैन । पानी पर्दा हिलो पहिरो र नपर्दा सुख्खा पहिरो झर्ने गरेको छ । समयमै पहिरो नहटाउँदा एक घण्टामा पार गर्न सकिने सडक पार गर्न ११ घण्टासम्म लाग्ने गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया