प्रदेश ५ : प्रतिपक्षबिना नै प्रदेशसभा बैठक सञ्चालन

 असार १३, २०७५ बुधवार १७:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बरको ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै सञ्चालन भएको छ । 

सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै दल नेपाली कांग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिए पनि प्रदेशसभा बैठक सञ्चालन भएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधमा हिजो स्थगित भएको प्रदेशसभा बैठक आज भने विपक्षीबिना नै बसेको हो । 

सत्तापक्षले सहमतिमा आएर विनियोजन विधेयकमाथिको छलफलका लागि विपक्षीलाई बैठकमा उपस्थित हुन आग्रह गरे पनि प्रतिपक्षी कांग्रेस आफ्ना माग सम्बोधन नगरेको भन्दै बैठकबाट बाहिरिएको हो । सभामुख पूर्णबहादुर घर्तीले प्रतिपक्षबिना नै प्रदेशसभा बैठक सञ्चालन गर्नुभएको थियो । 

प्रदेशसभाबाट बाहिरिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद् बैठक सञ्चालन गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: साउन २९, २०७५

तपाईको प्रतिक्रिया