कमाउन छाडेपछि आफन्तले नै वृद्धाश्रम पुर्‍याए

 चैत १९, २०७५ मंगलबार १५:४७:१६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - उतिबेला उमेर थियो । बलियो मान्छे जसले जे काम लगाए पनि गर्न हच्किनुहुन्नथ्यो । परिवारले पनि माया गर्थे । यौवन अवस्थामा श्रीमानले धेरै माया गर्थे, जब उमेर ढल्किँदै गयो तब परिवार आफन्त सबै टाढा भए भए ।

श्रीमानकाे मृत्युपछि अलपत्र अवस्थामा पुगेकी गल्छी गाउँपालिका वडा नं-४, कार्कीडाँडा की ८७ वर्षीया सीता अधिकारी अहिले स्याहार गर्ने मानिसको अभावमा वृद्धाश्रममा जीवन-मृत्युको दोसाँधमा पुग्नुभएको छ । 

उमेर छँदा विवाह गरेर थाक्रे गाउँपालिकाको भुमेस्थानबाट गल्छी गाउँपालिकाको कार्कीडाँडा आउँदा श्रीमानको, घर-परिवारको माया औधी थियो । उमेर थियााे । काम गर्न सक्ने थिए । सबै आफ्ना भए । केही वर्ष रमाइलो बित्यो । 

परिवारबाट छोरा पाउनुपर्ने बताएपछि सीता अधिकारी अन्यौलमा पर्नुभयो । छोरा वा छोरी पाउने कुरा महिलामा मात्र मात्र निर्भर नभएर महिला पुरुष दुवै मिलेर मात्र सम्भव हुने भए पनि उनले छोरा पाउन सक्नुभएन । जन्मिएकी छोरीको मृत्यु भयो । त्यसपछि परिवारले उनी माथि छोरा पाउन नसकेको आरोप लगाउन थाल्यो । जसले गर्दा उनका श्रीमानले दोश्रो विवाह गर्नुभयो । 

दोस्री श्रीमतीबाट ३ छोरा भए, सीता घरबाट विस्थापित हुनुभयो । माइती सिम्लेमासमेत लामो समय बस्नसक्ने अवस्था भएन । उहाँ घरमा बस्न नसकेपछि माइती आएपछि माइतमा समेत बस्न नपाएका कारण घर छाडेर निस्कनुभयो । काठमाण्डौमा एउटा वृद्ध परिवारलाई खाना बनाएर खुवाउने र सरसफाइ गरिदिने गरेर लामो समय बसेपछि उहाँ आफैं बुढ्यौलीले गल्ने अवस्थामा पुग्नुभयो । 

२०६३ सालमा नेपाली नागरिकता बनाएपछि २०६४ बाट नियमित रुपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएको गल्छी गाउँपालिकाको तथ्याङ्कले देखाउँछ ।

गाविस कार्यालय हुँदा पनि उहाँले सामाजिक सुरक्षा भत्ता पाउनुभएको थियो  । हाल आएर वडा कार्यालयले सीता अधिकारीको नाममा नियमित वृद्ध भत्ता बुझेको जानकारी दिएको छ । सीता अधिकारीले वडा कार्यालय देखेकै छैन । उहाँ गाउँमा पनि नभएकोले भत्ताको रकम कसले, कसरी लगे भन्ने प्रश्न उब्जिएको छ ।

कर्मचारीका परिवारका सदस्य दावी गर्नेहरुलाई सो भत्ताको रकम दिएको भए पनि सीता अधिकारीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ता वर्षौदेखि  नपाएको बताउनुभयो । 

काठमाण्डौका एक जनाको घरमा काम गरेर बसेको बेला माइतपट्टिका भदा र भदैनीहरुले ९दाजुभाइका छोरा र छोरी० बुढेसकालमा कि माइती कि घर त हो बस्ने ठाउँ भन्दै थाक्रे गाउँपालिकाको सिम्लेमा ल्याएर राखे ।

त्यतिखेर सीता अधिकारीसँग सुनको दुई ओटा बाला, तिलहरी, कानमा लगाउने टप, औठी, सुनको लक्ष्मी नारायणको मूर्ति थियो । जम्मा ३ तोलाभन्दा बढी गहना र नगद ५० हजार भन्दा बढी भएको अवस्थामा ल्याएर राखिएको सीता अधिकारीकी बहिनीकी छोरी राधा घिमिरे तिमल्सिनाले बताउनुभयो । 

केही समय माइतघरमा बसेपछि उहाँ घर जानुभयो । श्रीमानकाे समेत मृत्यु भइसेको घरमा वृद्ध मानिसलाई कसैले स्याहार गरेनन् । सीता अधिकारीले वैष्णव धर्मका उहाँका गुरुलाई भेट्न जाने इच्छा गरेपछि हेटौंडा लगियो । महिनाको तीन हजार रुपैयाँ दिने शर्तमा सौताका छोराहरुले श्रीमदभागवत ज्ञान सञ्चार वृद्धाश्रम हेटौंडामा छाडेर घर फर्किए ।

उहाँ अहिले ओछ्यान पर्नुभएको छ । वृद्धाश्रमले नियमित हेरचाह गरिरहेको छ ।

शर्त बमोजिम परिवारका सदस्यहरुले वृद्धाश्रमलाई सहयोग नगरेको आश्रमका व्यवस्थापक नारायण रिमालले बताउनुभयो । वृद्धाश्रमलाई मासिक ३ हजार दिनेगरी राखिएको १८ महिना पुग्दासमेत एक पटक जम्मा २४ हजार रुपैयाँ दिएको भए पनि आफूहरुले आश्रमको नियमअनुसार स्याहार गर्दै उहाँलाई राखेको रिमालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया